सिन्धुली,२९ साउन — सिन्धुली अस्पतालका समस्या सामाजिक सञ्जालमार्फत उठान हुनु सकारात्मक भए पनि समाधानका लागि स्थलगत अध्ययन, सरोकारवालासँग संवाद र निरन्तर पहल आवश्यक रहेको सिन्धुलीका नागरिक बताएका छन् ।
सिन्धुली क्षेत्र नं २ का माननीय सांसद आशीष गजुरेलले अस्पतालसम्बन्धी सामाजिक सञ्जालमा राखेको स्टाटसप्रति प्रतिक्रिया जनाउँदै सिन्धुलीका बाशुदेब देबकोटाले अस्पतालका वास्तविक अवस्था बुझ्न फेसबुक पोस्टले मात्र पर्याप्त नहुने उल्लेख गरेका छन् । आफू हप्तामा दुई पटकभन्दा बढी सिन्धुली अस्पताल जाने गरेको र मिर्गौला फेल भएका हजुरबुवाको नियमित हेमोडायलाइसिसका कारण अस्पतालको सेवा, बिरामी तथा आफन्तका कठिनाइ नजिकबाट देख्ने अवसर पाएको उनको भनाइ छ ।
उनले अस्पतालमा पुगेर बिरामी, बिरामीका आफन्त, चिकित्सक, नर्स, कर्मचारी, प्रशासन र सम्बन्धित निकायसँग प्रत्यक्ष छलफल गर्न आग्रह गरेका छन् । “समस्या कहाँ छ भन्ने मात्र होइन, किन भयो, कसको जिम्मेवारी हो र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि जनप्रतिनिधि सक्रिय हुनुपर्छ,” उनले बताएका छन् ।
उनले केही समयअघि गजुरेल प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कपिलाकोट पुगेको प्रसङ्ग पनि उठाएका छन् । कलेजमा विद्यार्थी संख्या घट्नुको कारण बाहिर रहेका केही विद्यार्थीसँग कुराकानी गरी भिडियो बनाइए पनि प्राचार्य, प्राध्यापक, कर्मचारी, व्यवस्थापन पक्ष तथा सम्बन्धित जनप्रतिनिधिसँग विस्तृत संवाद हुनुपर्ने उनको धारणा छ ।
कलेजमा ५४ जनाको स्वीकृत कोटामध्ये ५० प्रतिशत पनि विद्यार्थी भर्ना हुन नसक्नु गम्भीर विषय भएको उनले उल्लेख गरेका छन् । विद्यार्थी नआएको विषयलाई मात्र केन्द्रमा राख्नुभन्दा उनीहरू किन आएनन्, संस्थागत कमजोरी कहाँ रह्यो, जिम्मेवार पक्ष को हुन् र सुधारका उपाय के हुन सक्छन् भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने उनको माग छ ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कपिलाकोट, सिन्धुली कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनअन्तर्गत बागमती प्रदेशको एकमात्र आङ्गिक कलेज हो । यस्तो महत्त्वपूर्ण शैक्षिक संस्थामा विद्यार्थी आकर्षण घट्नु र स्वीकृत कोटाअनुसार भर्ना नहुनु कलेजको मात्र नभई सिन्धुली तथा समग्र बागमती प्रदेशकै सरोकारको विषय भएको उनले जनाएका छन् ।
उनले सामाजिक सञ्जालले समस्या चर्चामा ल्याउन सहयोग गरे पनि संवाद, जिम्मेवार पहल, कार्यान्वयन र प्रगति सार्वजनिक गर्ने अभ्यासबाट मात्र दीर्घकालीन समाधान सम्भव हुने बताएका छन् । उक्त धारणा व्यक्तिगत आलोचना नभई जिल्ला, अस्पताल र कलेजप्रतिको नागरिक चासोका रूपमा लिन उनले आग्रह गरेका छन् ।