शुक्रवार, श्रावण २९ गते २०८३

Friday 14th August 2026

जनप्रतिनिधिका गाडीमा सधैँ तेल, एम्बुलेन्स इन्धनविहीन

बुधवार , श्रावण २७, २०८३


सिन्धुली,२७ साउन — गोलन्जोर गाउँपालिकामा जनप्रतिनिधिका सवारीसाधन नियमित सञ्चालन भइरहँदा नागरिकको आपत्कालीन सेवासँग प्रत्यक्ष जोडिएको एम्बुलेन्स भने इन्धन अभावमा बिरामी लिन जान नसकेको घटना सार्वजनिक भएको छ । गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार साउन २६ गते साँझ टाउकोमा चोट लागेर गम्भीर घाइते भएका एक युवालाई अस्पताल लैजान पालिकाका दुई एम्बुलेन्समा सम्पर्क गर्दा एउटा बिग्रिएको र अर्कोमा तेल नभएको जानकारी दिइएको थियो । घाइतेको टाउकोबाट रगत बगिरहेको र परिवारमा रुवाबासी चलेपछि वडाध्यक्ष कार्की आफैँ गाडी लिएर घटनास्थल पुगेका र अस्पताल पु¥याएका थिए ।

कार्कीका अनुसार एम्बुलेन्समा इन्धन नभएकै दिन बिहान गाउँपालिका अध्यक्ष शंकर बराल पालिकाको गाडीमा काठमाडौं गएका थिए भने उपाध्यक्षको सवारी सिन्धुलीतर्फ गएको थियो । जुनसुकै बेला आपत्कालीन अवस्था आउन सक्ने भए पनि एम्बुलेन्स तयारी अवस्थामा नराखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । अध्यक्ष र उपाध्यक्षका गाडी बिग्रिएर वा तेल नभएर एक दिनसमेत रोकिएको नदेखिएको तर हजारौँ नागरिकका लागि आवश्यक एम्बुलेन्स इन्धनविहीन हुनु गैरजिम्मेवारीको पराकाष्ठा भएको उनीहरूको टिप्पणी छ ।

गाउँपालिका अध्यक्ष बरालले भने सामान्य समस्या आएको र समाधान भइसकेको बताएका छन् । उनले स्वास्थ्य शिविर सञ्चालनसम्बन्धी कामका लागि आफू काठमाडौं आएको जानकारी दिए । तर समस्या समाधान भएको दाबी गरिएकै दिन दिउँसो कुपन लिएर खुर्कोट पुगेको एम्बुलेन्सलाई पम्पले तेल नदिएपछि रित्तै फर्काइएको थियो । पछि पहल गरिएपछि ‘बाल एम्बुलेन्स’ले ४७ लिटर तेल भरेर फर्किएको बताइएको छ ।

स्थानीयका अनुसार अध्यक्ष र उपाध्यक्षले पालिकाका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको गुनासो यसअघि पनि उठ्दै आएको थियो । उनीहरू फरक–फरक गाडी लिएर बेलुका बास बस्न सिन्धुलीमाढी जाने, बिहान पालिका फर्कने तथा कहिलेकाहीँ चिया खानसमेत पालिकाको गाडी लिएर सिन्धुलीमाढी पुग्ने गरेको स्थानीयको आरोप छ । उपाध्यक्षले पटक–पटक सरकारी गाडी दुरुपयोग गरेको विषय यसअघि नै सार्वजनिक भइसकेको पनि उनीहरू बताउँछन् ।

एम्बुलेन्सले इन्धन नपाएको यो पहिलो घटना होइन । करिब तीन महिनाअघि खुर्कोटमा आगलागी हुँदा दुई जना घाइते भएपछि पालिकाको एम्बुलेन्स बोलाइए पनि तेल नभएको भन्दै जान नसक्ने जवाफ आएको स्थानीयको भनाइ छ । बिरामीलाई काठमाडौं लैजानुपर्ने र नजिक उपलब्ध एम्बुलेन्स त्यही भएकाले स्थानीयले तेल हालिदिने सर्तमा एम्बुलेन्स बोलाएका थिए । स्थानीय सामूहिक धरौटी बसेर उधारोमा तेल भरी घाइतेलाई काठमाडौं पठाइएको र त्यसको केही दिनपछि मात्र पालिकाले इन्धनको रकम भुक्तानी गरेको बताइएको छ ।

नागरिकको स्वास्थ्य र जीवनसँग जोडिएको सेवामा पटक–पटक समस्या देखिए पनि पालिकास्तरमा गम्भीर छलफल नभएको स्थानीयको गुनासो छ । हाल गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत काठमाडौंमा छन् । आपत्कालीन स्वास्थ्य सेवामा देखिएको यस्तो कमजोरीबारे सम्बन्धित निकायले तत्काल संस्थागत समाधान खोज्नुपर्ने स्थानीयको माग छ । स्रोत : सिन्धुली मंसिर चार

प्रतिक्रिया