शुक्रवार, श्रावण २९ गते २०८३

Friday 14th August 2026

सिन्धुलीको दुधौलीमा खैरो हिरोइन सहित युवक पक्राउ

बुधवार , श्रावण २७, २०८३

सिन्धुली,२७ साउन — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौलीमा यात्रुवाहक हाइस जाँचका क्रममा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित विभिन्न प्रकारका लागुऔषध बरामद गरी सुनसरीका एक युवकलाई प्रअरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीका २१ वर्षीय विवेक शर्मा पक्राउ परेका हुन् ।

बुधवार बिहान करिब १० बजे दुधौली नगरपालिका–६ स्थित पोखरी क्षेत्रमा प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी तथा ट्राफिकसहित पाँच जनाको टोलीले सुनसरीबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ६०३४ नम्बरको हाइस रोकेर जाँच गरेको थियो । हाइसको पछाडिपट्टिको ११ नम्बर सिटमा बसेका शर्माले बोकेको झोला जाँच गर्दा लुकाइछिपाइ राखिएका लागुऔषध फेला परेको प्रहरीको दाबी छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार झोलाबाट ‘खैरो हिरोइनजस्तो देखिने लागुऔषध’ प्लास्टिकसहित तौल गर्दा ३ दशमलव २१ ग्राम र प्लास्टिक हटाएर तौल गर्दा २ दशमलव २९ ग्राम पाइएको छ । बरामद पदार्थ हिरोइन नै भएको औपचारिक पुष्टि भने भइसकेको छैन ।

झोलाबाट ‘स्पारेस्ट’ लेखिएका ८० ट्याबलेट अर्थात् आठ पत्ता, ‘एन्टिकफ’का ४८ ट्याबलेट अर्थात् पाँच पत्ता, ‘स्पास्मो’का १६ ट्याबलेट अर्थात् दुई पत्ता तथा ‘ट्रामाडोल’का ९८ क्याप्सुल अर्थात् १० पत्ता पनि बरामद गरिएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

घटनास्थलमा प्रारम्भिक प्रक्रिया पूरा गरी शर्मा र बरामद सामग्री इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा लगिएको छ । जिल्ला प्रहरी कार्यालयले  थप अनुसन्धान भइरहेको जनाएको छ ।

अनुसन्धान जारी रहेकाले बरामद पदार्थ तथा औषधिको स्रोत, सम्भावित गन्तव्य र घटनासँग जोडिन सक्ने अन्य व्यक्तिबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन । नियन्त्रणमा लिइएका शर्मामाथिको आरोप अनुसन्धानकै चरणमा रहेकाले आरोप पुष्टि भइसकेको अवस्था नरहेको प्रहरी विवरणबाट देखिन्छ ।

प्रतिक्रिया