सिन्धुली,२७ साउन — सिन्धुलीको फिक्कल गाउँपालिका–६ अन्तर्गत दल्छे राम्बद्रे हाटिटार क्षेत्रमा बाघको आक्रमणबाट स्थानीय किसानका खसीबाख्रामा ठूलो क्षति पुगेको छ । जंगलमा चराउन लगिएका खसीबाख्रामध्ये आठ वटा मृत र दुई वटा घाइते अवस्थामा फेला परेपछि स्थानीय किसानले वन्यजन्तुबाट कृषि तथा पशुपालनमा बढ्दो जोखिम सामना गर्नुपरेको बताएका छन् ।
राम्बद्रे हाटिटारका स्थानीय ज्ञानबहादुर राईले पालेका १० वटा खसीबाख्रालाई बाघले आक्रमण गरेको हो । ती खसीबाख्रा हिजो नियमित रूपमा जंगलमा चराउन लगिएका थिए। साँझसम्म पनि खसीबाख्रा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो। आज बिहान खोजी गर्ने क्रममा जंगल क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा ती खसीबाख्रा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
फेला परेका १० खसीबाख्रामध्ये आठ वटा मरिसकेका थिए भने दुई वटा घाइते अवस्थामा भेटिएका छन् । एकैपटक ठूलो संख्यामा पशु गुमाउनुपर्दा राईलाई एक लाख रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको बताइएको छ । पशुपालनलाई आयआर्जनको आधार बनाउँदै आएका ग्रामीण क्षेत्रका किसानका लागि यस्तो क्षतिले प्रत्यक्ष आर्थिक असर पार्ने स्थानीयको भनाइ छ ।
राम्बद्रे हाटिटार तथा आसपासका क्षेत्रमा बाघले पशुचौपायामाथि आक्रमण गरेको यो पहिलो घटना नभएको स्थानीय बताउँछन् । यसअघि पनि पटक–पटक बाघले खसीबाख्रा मार्ने गरेको उनीहरूको भनाइ छ । नियमित रूपमा यस्ता घटना हुन थालेपछि जंगल आसपासका बस्तीमा पशुपालन गर्ने किसानलाई पशु सुरक्षित रूपमा चराउन र राख्न कठिनाइ बढ्दै गएको छ ।
स्थानीयवासीका अनुसार गाउँमा खेतीपाती र पशुपालन दुवैमा वन्यजन्तुको समस्या बढेको छ । मकै खेती गर्दा बाँदरले बाली नष्ट गर्ने र खसीबाख्रा पाल्दा बाघको आक्रमण हुने अवस्थाले परम्परागत कृषि पेसा जोगाउन चुनौती थपिएको उनीहरू बताउँछन् । अर्कोतर्फ, बसाइँ सरेर अन्यत्र जाने सहज विकल्पसमेत नभएकाले गाउँमै बसेर खेती–किसानी तथा पशुपालनबाट जीविकोपार्जन गर्ने आधार कमजोर बन्दै गएको उनीहरूको गुनासो छ ।
वन्यजन्तुको आक्रमणबाट किसानले पटक–पटक लाखौँ रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको भन्दै स्थानीयले फिक्कल गाउँपालिकासँग प्रभावकारी पहलको माग गरेका छन् । क्षति व्यहोरेका किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा आगामी दिनमा बाघलगायत वन्यजन्तुका कारण पशुधनमा हुने क्षति न्यूनीकरणका लागि आवश्यक सुरक्षा र नियन्त्रणका कदम चाल्नुपर्ने स्थानीयको माग छ ।