सिन्धुली,२७ साउन –बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका नजिक सञ्चालनमा रहेको ई–स्टप होटलले यात्रुलाई राम्ररी नपाकेको मःम दिएको गुनासो सार्वजनिक भएको छ । राजमार्ग क्षेत्रमा विद्युतीय सवारीसाधनका लागि सबैभन्दा धेरै चार्जिङ पोइन्ट रहेको बताइने उक्त होटलमा गत आइतबार एक यात्रुलाई मासुभित्र रगत देखिने अवस्थाको मःम दिइएको यात्रुको भनाइ छ । होटलको खाना तथा सेवाको गुणस्तरलाई लिएर यसअघि पनि पटक–पटक गुनासो आउने गरेको बताइएको छ ।
यात्रुका अनुसार मःम खान थालेपछि असामान्य गन्ध आएको थियो । त्यसपछि मःम फुटाएर भित्रको भाग हेर्दा मासु रातो र काँचो अवस्थामा देखिएको थियो । मःम राम्ररी नपाकेको देखेपछि यात्रु तत्काल होटलको काउन्टरमा पुगेर व्यवस्थापनलाई त्यसबारे जानकारी गराएका थिए। तर समस्या स्वीकार गरेर समाधान खोज्नुको सट्टा व्यवस्थापन पक्षबाट ‘हाम्रो मःम यस्तै हो’ भन्ने जवाफ आएको यात्रुको दाबी छ । उनले काँचो मःमबारे प्रश्न उठाउँदा समेत होटल पक्षले धम्कीपूर्ण व्यवहार गर्दै खानाको पैसा असुल गरेको आरोप लगाएका छन् ।
उक्त ई–स्टप होटल बीपी राजमार्गमा सार्वजनिक सवारीसाधनका लागि चार्जिङ सेवा उपलब्ध गराउने पहिलो होटलसमेत रहेको बताइएको छ । हाल होटलको व्यवस्थापन विद्युतीय सवारीसाधनका चार्जिङ पूर्वाधार जडान गर्दै आएको दिगो ग्रुपले हेर्दै आएको छ । सोही समूहले बीपी राजमार्गको मुलकोटसहित कुरिनटार र नेपालगन्जमा समेत चार्जिङ स्टेसनसहित होटल सञ्चालन गरिरहेको छ ।
दिगो ग्रुपको वेबसाइटमा भने आफ्ना यस्ता सेवा केन्द्रलाई सफा वातावरण र स्वादिष्ट खाना उपलब्ध हुने स्थानका रूपमा प्रस्तुत गरिएको छ । वेबसाइटमा गरिएको दाबी र यात्रुले सार्वजनिक गरेको अनुभवबीच फरक देखिएपछि होटलको खाद्य गुणस्तर तथा व्यवस्थापन प्रक्रियामाथि प्रश्न उठेको छ ।
काँचो मःम उपलब्ध गराइएको विषयमा प्रतिक्रिया लिन होटल सञ्चालकसँग सम्पर्क गर्न खोज्दा फोन दिगो ग्रुपको काठमाडौंस्थित कार्यालयमा उठेको थियो । कार्यालयका एक प्रतिनिधिले यात्रुको गुनासोबारे बुझेर जानकारी गराउने बताएका थिए । होटलका म्यानेजरको सम्पर्क नम्बर माग्दा भने उनले नम्बर उपलब्ध गराउन नमिल्ने बताएका थिए । त्यसपछि थप जानकारीका लागि पटक–पटक फोन सम्पर्क गर्दा फोन उठ्न छाडेको बताइएको छ ।
राजमार्गका होटलमा यात्रा क्रममा सीमित विकल्पबीच खाना खानुपर्ने यात्रुको स्वास्थ्यसँग खाद्य गुणस्तर प्रत्यक्ष जोडिएको हुन्छ । ई–स्टप होटलमा देखिएको पछिल्लो घटनाले राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टको खाद्य सुरक्षा, स्वच्छता र नियमित अनुगमनको आवश्यकता पुनः देखाएको छ । खाद्य गुणस्तर कायम गराउने तथा उपभोक्ताको स्वास्थ्य संरक्षण गर्ने जिम्मेवारीमा रहेका सम्बन्धित निकायले घटनाबारे आवश्यक छानबिन र अनुगमन गर्नुपर्ने देखिएको छ । स्रोतः सिन्धुली मंसिर चार