सिन्धुली,२७ साउन – सुनकोशी गाउँपालिकामा शिक्षकको आन्तरिक सरुवा, विषयगत शिक्षकको अभाव र शिक्षा समितिकानिर्णयलाई लिएर विवाद चर्किएको छ । विद्यार्थी संख्या र विषयगत आवश्यकताअनुसार शिक्षक व्यवस्थापन हुनुपर्नेमा राजनीतिक पहुँच र प्रशासनिक निर्णय हाबी भएको आरोपपछि स्थानीय शिक्षा व्यवस्थापनमाथि प्रश्न उठेको हो ।
विवादको केन्द्रमा सुनकोशी गाउँपालिका–७ मझुवास्थित गणेश माध्यमिक विद्यालय छ । विषयगत शिक्षकको दरबन्दी नमिलेको कारण देखाउँदै सरुवा भएर पुगेका शिक्षक राजन वास्तोलालाई विद्यालयले हाजिर नगराएको बताइएको छ । वास्तोला यसअघि सुनकोशी गाउँपालिका–६ खाल्टेस्थित श्री दीर्घप्रदीप माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा कार्यरत थिए । शिक्षा समितिले २०८३ जेठमा उनलाई गणेश माध्यमिक विद्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
विद्यालयले हाजिर नगराएपछि २०८३ साउन २१ गतेको कार्यपालिका तथा शिक्षा समिति बैठकले वास्तोलालाई गाउँपालिका उपाध्यक्षको कानुनी सल्लाहकारको जिम्मेवारी दिएको र साउन २५ गतेदेखि गाउँपालिकामा हाजिर गराइएको विवरण सार्वजनिक भएको छ । यही निर्णयपछि जनप्रतिनिधि र शिक्षा समितिबीच आरोप–प्रत्यारोप बढेको हो ।
सुनकोशी गाउँपालिका–७ का वडा अध्यक्ष लोकबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत शिक्षक सरुवा, मझुवाका विद्यालयको व्यवस्थापन र जनप्रतिनिधिसँग गरिएको व्यवहारबारे प्रश्न उठाएका छन् । समस्या समाधानका लागि बोलाइएको छलफल निष्कर्षविहीन भएको र जायज माग राख्दा शिक्षा समितिको बैठकमा आफूलाई अपमानजनक व्यवहार गरिएको उनको आरोप छ । जनप्रतिनिधिलाई ‘निष्कासन’ गर्नेसम्मको भाषा कुन नियम र संस्कृतिअन्तर्गत पर्छ भन्दै उनले प्रश्न गरेका छन् ।
कार्कीले मझुवाका गरीब, दलित तथा आदिवासी समुदायका बालबालिकाले गुणस्तरीय र विषयगत शिक्षक पाउने अधिकार प्रभावित भएको दाबी गरेका छन् । “जनता शिक्षित भए आफ्नै राजनीति संकटमा पर्छ भन्ने डरले यस्तो निर्णय गरिएको हो कि ?” भन्दै उनले विगतको निर्वाचनमा प्राप्त मतको प्रतिशोध खोजिएको हो कि भन्ने आशंकासमेत व्यक्त गरेका छन् ।
चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र शिक्षकहरूको आन्तरिक सरुवा तीनपटकसम्म भएको बताइएको छ । सरोकारवालाका अनुसार कतिपय विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षक बढी छन् भने केहीमा आवश्यक विषयका शिक्षक छैनन्, जसले विद्यार्थी–शिक्षक अनुपात असन्तुलित बनाएको छ ।
कार्कीले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा तथ्य, विद्यार्थी संख्या र विषयगत आवश्यकतालाई आधार बनाउनुपर्ने बताएका छन् । प्राविधिक वा प्रशासनिक त्रुटिका कारण निर्णय बिग्रिएको भए सच्याएर योग्य विषयगत शिक्षक व्यवस्था गर्नुपर्ने उनको माग छ ।
यसैबीच केही वडा अध्यक्षहरूले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी नीतिगत अनियमिततामा संलग्न रहेको आरोप लगाएका छन् । गाउँपालिकाले विवादित निर्णयको आधार, शिक्षक व्यवस्थापनको मापदण्ड र उठेका प्रश्नबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल नेपाली कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला इञ्चार्ज राजन दाहालकी श्रीमती हुन् ।
यो विवादले शिक्षक व्यवस्थापन राजनीतिक सम्बन्धका आधारमा हुने कि विद्यार्थीको आवश्यकता र विषयगत दरबन्दीका आधारमा भन्ने प्रश्नलाई केन्द्रमा ल्याएको छ । स्पष्ट जवाफ नआएसम्म सुनकोशीको शिक्षा व्यवस्थापनमाथिको विवाद थप चर्किने देखिन्छ ।