सिन्धुली,२६ साउन – कक्षाकोठामा अध्ययन गरिने सामाजिक विषयलाई व्यवहारिक अभ्याससँग जोड्दै सिन्धु शुभ पर्वत बोर्डिङ स्कुलका कक्षा दशका विद्यार्थीले सामाजिक समस्या समाधानका लागि नागरिक सहभागिता जुटाउँदै सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएका छन् । ‘सामाजिक समस्या र समाधान’ विषयअन्तर्गत सञ्चालन गरिएको परियोजना कार्यका क्रममा विद्यार्थीले दुई सय छत्तीस जना नागरिकको हस्ताक्षर सङ्कलन गरी कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीसमक्ष मागपत्र बुझाएका हुन् ।
सामाजिक समस्या पहिचान गरी त्यसको समाधानका सम्भावित उपायबारे व्यवहारिक ज्ञान हासिल गर्ने उद्देश्यले विद्यार्थीले स्थलगत अध्ययनसमेत गरेका थिए । अध्ययनका क्रममा उनीहरूले स्थानीय नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सम्बन्धित समस्याका विषयमा धारणा बुझेका थिए । समस्याबारे जनस्तरमा जानकारी विस्तार गर्न विद्यार्थीले जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए भने समाधानका पक्षमा नागरिक समर्थन जुटाउन हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
अभियानबाट संकलन गरिएको दुई सय छत्तीस जना नागरिकको हस्ताक्षरसहित विद्यार्थीले तयार पारेको निवेदन तथा मागपत्र कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा बुझाइएको छ । विद्यार्थीले सम्बन्धित निकायसँग पहिचान गरिएको सामाजिक समस्याको समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् । यस क्रममा समस्या पहिचानमा मात्र सीमित नरही समाधान प्रक्रियामा नागरिक र जिम्मेवार निकायबीच समन्वयको आवश्यकता रहेको पक्षलाई समेत व्यवहारिक रूपमा अभ्यास गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको उक्त परियोजना कार्यको नेतृत्व सामाजिक विषयका शिक्षक सुशील कोइरालाले गरेका थिए । विद्यालयको सहकार्य तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा अभियान सम्पन्न भएको हो । शिक्षक कोइरालाका अनुसार कक्षाकोठामा अध्ययन गरिएको सामाजिक समस्या र समाधानसम्बन्धी विषयवस्तुलाई विद्यार्थीको दैनिक तथा व्यवहारिक जीवनसँग जोड्ने उद्देश्यले परियोजना कार्य सञ्चालन गरिएको हो ।
उनले परियोजनामार्फत विद्यार्थीलाई समाजमा विद्यमान समस्या पहिचान गर्ने, समस्याको वास्तविक अवस्था बुझ्न स्थलगत अध्ययन गर्ने, नागरिकसँग संवाद र अन्तरक्रिया गर्ने तथा जनसहभागिता जुटाउने अवसर प्रदान गरिएको बतए । साथै, नागरिक सहभागिता, नेतृत्व क्षमता, संवाद कौशल र समाधानका लागि सम्बन्धित निकायसमक्ष पहल गर्ने सीप विकास गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।
विद्यालय तहका विद्यार्थीले पाठ्यपुस्तकमा समेटिएको सामाजिक समस्या र समाधानको अवधारणालाई प्रत्यक्ष सामाजिक अभ्यासमा रूपान्तरण गर्दै नागरिकको समर्थनसहित स्थानीय सरकार र प्रशासनसम्म विषय पु¥याएका हुन् । यस परियोजना कार्यले विद्यार्थीलाई अध्ययनसँगै सामाजिक सरोकारका विषयमा जिम्मेवार सहभागिता, नागरिक संवाद र संस्थागत प्रक्रियामार्फत समाधान खोज्ने अभ्याससमेत प्रदान गरेको छ ।