शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनकोशीमा बेवारिसे महिलाको शव फेला

आइतवार , श्रावण २४, २०८३


सिन्धुली,२४ साउन – ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ बलखुबेसीस्थित सुनकोशी नदीको घुमाउने क्षेत्रमा आइतबार दिउँसो एक महिलाको शव फेला परेको छ । केही दिनअघि नदीमा हाम्फालेर बेपत्ता भएका काभ्रेका पराजुली दम्पतीमध्ये एक जनाको शव हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि औपचारिक पहिचान भने भइसकेको छैन ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नबलपुरमा भएको कार दुर्घटनापछि सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीन यात्रु र दुर्घटनाग्रस्त कारको खोजी गर्ने क्रममा उक्त शव भेटिएको हो । खोजी टोलीले नदी तथा आसपासका क्षेत्रमा निरन्तर खोजतलास गरिरहेका बेला बलखुबेसीको घुमाउनेमा महिलाको शव देखेपछि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

खोजी कार्यमा संलग्न सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालका अनुसार फेला परेको शव पेटीकोट लगाएको अवस्थामा थियो । शवको पिसाब थैलीमा प्रयोग गरिने क्याथेटर पाइपसमेत जोडिएको भेटिएको उनले जानकारी दिए । केही दिनअघि नदीमा हाम्फालेर बेपत्ता भएका काभ्रेका पराजुली दम्पती बिरामी अवस्थामा रहेको जानकारी प्राप्त भएकाले भेटिएको शव उनीहरूमध्ये एक जनाको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बरालले बताउ ।

यद्यपि हालसम्म शवको आधिकारिक पहिचान पुष्टि भएको छैन । शव कसको हो भन्ने यकिन गर्न आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । प्रारम्भिक अवस्थाबाट गरिएको अनुमानलाई औपचारिक पहिचानका रूपमा नलिइएको र सम्बन्धित प्रक्रिया पूरा भएपछि मात्र मृतकको परिचय स्पष्ट हुने बताइएको छ ।
यसैबीच, फिक्कल गाउँपालिका–२ नबलपुरमा भएको कार दुर्घटनामा सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीन पुरुष यात्रुको अवस्था भने दुर्घटनाको सातौँ दिन आइतबारसम्म पनि पत्ता लाग्न सकेको छैन । उनीहरूसँगै नदीमा खसेको कारसमेत फेला नपरेपछि खोजी कार्यलाई विभिन्न प्रविधिको सहायतामा निरन्तरता दिइएको छ ।

बेपत्ता यात्रु र कारको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । साथै नदीको गहिराइ तथा सम्भावित स्थान पहिचान गर्न ड्रोन र म्याग्नेटलगायत उच्च प्रविधिका उपकरणसमेत प्रयोग भइरहेका छन् । खोजीको दायरा विस्तार गर्दै सम्भावित स्थानहरूमा टोली परिचालन गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।

सुनकोशी नदीमा रहेको तीव्र बहाव, अत्यधिक गहिराइ तथा आसपासको भौगोलिक कठिनाइले खोजी कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ । नदीको प्रकृति र प्रतिकूल अवस्थाका कारण दुर्घटनाग्रस्त कार तथा बेपत्ता व्यक्तिको सम्भावित स्थान यकिन गर्नसमेत कठिन भइरहेको सम्बन्धित पक्षको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार दुर्घटनामा बेपत्ता तीन यात्रु र कारको खोजी कार्य साउन २५ गते दिउँसो १ बजेसम्म निरन्तर सञ्चालन गर्ने निर्णय भएको छ । उक्त समयसम्म सघन खोजी जारी राख्ने र त्यसपछि खोजी स्थगित गर्ने विषयमा पीडित पक्षसँग सहमति भएको उहाँले जानकारी दिउक् िछन् ।

कार दुर्घटनाका बेपत्ता यात्रुको खोजीका क्रममा महिलाको शव फेला परेपछि घटनाले अर्को बेपत्ता प्रकरणसँग सम्भावित सम्बन्ध देखाएको छ । तर शवको औपचारिक पहिचान नभएसम्म त्यसलाई पराजुली दम्पतीमध्ये कसैको भएको निष्कर्षमा पुग्न नसकिने भएकाले सम्बन्धित निकायले पहिचान प्रक्रिया पूरा भएपछि मात्र थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया