सिन्धुली,२४ साउन – सिन्धुलीमा पछिल्ला दिनमा पूर्वसूचनाविना पटकपटक विद्युत् आपूर्ति अवरुद्ध हुने क्रम बढेपछि सर्वसाधारणदेखि व्यवसायीसम्म प्रभावित भएका छन् । औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको वर्षौं बितिसके पनि दिनभरि बत्ती झ्याप्प जाने र केही सेकेन्ड वा मिनेटमै फर्किने अवस्थाले उपभोक्तालाई पुरानै विद्युत् संकटको झल्को दिएको छ । छोटो अवधिको यस्तो अवरोध नियमित बन्दै जाँदा घरायसी काम, कार्यालयीय सेवा, उद्योग, अस्पताल, इन्टरनेट सेवा र अनलाइनमा आधारित व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
विशेषगरी कम्प्युटरमा निर्भर काम, अनलाइन कक्षा, डिजिटल भुक्तानी तथा अन्य विद्युतीय प्रणालीबाट सेवा दिने व्यवसायमा बारम्बार काम रोकिने समस्या देखिएको उपभोक्ताको गुनासो छ । एक्कासि विद्युत् काटिँदा कम्प्युटर बन्द हुने, इन्टरनेट सम्पर्क टुट्ने र कारोबार बीचमै अवरुद्ध हुने भएकाले समयसँगै आर्थिक नोक्सानीसमेत बढेको व्यवसायीले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सिन्धुली बितरण केन्द्रको विश्लेषणअनुसार अधिकांश ट्रिपिङ रुख ढल्नु, हावाहुरी तथा वर्षाका कारण लाइनमा अर्थफल्ट हुनु, जम्पर चुँडिनु, ट्रान्स्फर्मर र सबस्टेसनका उपकरणमा खराबी आउनु तथा सुरक्षा प्रणाली सञ्चालन हुनुका कारण हुने गरेको छ । प्राधिकरणले छोटो समयका यस्ता अवरोधलाई लोडसेडिङ नभई ट्रिपिङ वा प्राविधिक समस्या मान्दै आएको छ । यद्यपि, कारण प्राविधिक भए पनि त्यसको प्रत्यक्ष असर अन्ततः उपभोक्ताले नै व्यहोर्नुपरेको छ ।
सामाजिक सञ्जालमा पनि छोटो अवधिमा बारम्बार विद्युत् अवरोध हुने गरेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाइरहेका छन् । प्राधिकरणको तथ्यांकले अघिल्लो वर्षको तुलनामा ट्रिपिङ संख्या घटेको देखाए पनि राष्ट्रिय प्रसारण प्रणाली अझै मौसमजन्य जोखिम, प्रसारण लाइनका प्राविधिक समस्या र उपकरणमा आउने खराबीबाट पूर्ण रूपमा सुरक्षित भइनसकेको देखिन्छ ।
यसरी छोटो समयका लागि मात्रै विद्युत् बन्द भए पनि दिनमा पटकपटक दोहोरिने अवरोधले सेवाको निरन्तरता कमजोर बनाएको उपभोक्ताको अनुभव छ । विद्युतीय उपकरण चलाउनेदेखि कार्यालयमा इन्टरनेटमार्फत सूचना आदानप्रदान गर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने र डिजिटल कारोबार सम्पन्न गर्ने काम विद्युत्को स्थिर आपूर्तिसँग जोडिएकाले केही सेकेन्डको कटौतीले पनि कामको क्रम भंग हुने गरेको छ । यही कारण उपभोक्ताले ट्रिपिङलाई प्राविधिक शब्दावलीमा मात्रै सीमित नगरी यसको व्यावहारिक असरलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने माग उठाएका छन् ।
मौसमका कारण लाइनमा समस्या आउने, रुख ढल्ने वा हावाहुरीले संरचनामा असर गर्ने अवस्था नियन्त्रणबाहिर हुन सक्ने भए पनि अवरोधको कारण र सम्भावित अवधि समयमै जानकारी गराइनुपर्ने उपभोक्ताको अपेक्षा छ । मर्मत, उपकरण प्रतिस्थापन वा अन्य प्राविधिक काममा पूर्वजानकारी भए काम व्यवस्थापन गर्न सहज हुने उनीहरूले बताएका छन् ।
बारम्बार विद्युत् जाने र आउने क्रमले फ्रिजर, टेलिभिजन, कम्प्युटर, राउटर, इन्भर्टरलगायत विद्युतीय उपकरणमा क्षति पुग्न सक्ने भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । केही व्यवसायीले विद्युत् आपूर्ति अवरुद्ध हुँदा उत्पादन प्रक्रिया रोकिने, सेवा प्रभावित हुने र त्यसले प्रत्यक्ष आर्थिक क्षति निम्त्याउने बताएका छन् । अस्पताल तथा अन्य संवेदनशील सेवामा समेत यस्तो अनिश्चित आपूर्तिले सेवा प्रवाहमा जोखिम बढाउने उनीहरूको भनाइ छ ।
पूर्वसूचना र कारणबारे समयमै जानकारी नआउँदा नागरिकमा अन्योल बढेको छ । सामाजिक सञ्जालमा पछिल्ला दिनमा व्यापक रूपमा उठिरहेको प्रश्न पनि यही छ, ‘लोडसेडिङ त हट्यो, तर झ्याप्पझ्याप्प बत्ती जाने समस्या कहिले हट्छ ?’ नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको अपेक्षा गरिरहेका उपभोक्ताले प्राधिकरणबाट समस्या नियन्त्रणसँगै प्रभावकारी सूचना प्रणाली र दीर्घकालीन प्राविधिक सुधारको अपेक्षा गरेका छन् ।