चितवन,२१ साउन – बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लामा रहेका ९१ स्थान सवारी दुर्घटनाका दृष्टिले जोखिमयुक्त देखिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको विवरणले प्रदेशमा सडक दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा रहेको देखाएको हो ।
कार्यालयका अनुसार चितवन, धादिङ र मकवानपुर भौगोलिक अवस्थाका कारण बढी संवेदनशील छन् । प्रदेशका ९१ जोखिमयुक्त स्थानमध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४, मकवानपुरमा १२, काभ्रेपलाञ्चोकमा ११, नुवाकोटमा आठ, रसुवा र रामेछापमा ४–४, सिन्धुपाल्चोकमा ३ तथा दोलखामा २ स्थान छन् ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा पाँच जनाभन्दा बढीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । तीन आर्थिक वर्षमा भएका ५ हजार ८७२ दुर्घटनामा ९५९ जनाको मृत्यु भएको छ भने ११ हजार ६९९ जना घाइते भएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा ३१५, २०८१÷८२ मा ३०४ र २०८२÷८३ मा ३४० जनाले ज्यान गुमाएका छन् ।
गत आर्थिक वर्षमा मात्रै एक हजार ९२४ दुर्घटना भएका थिए । तीमध्ये एक हजार ११४ राजमार्गमा, ५३९ ग्रामीण क्षेत्रमा र २७१ सहरी क्षेत्रमा भएका हुन् । दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्मको समय दुर्घटनाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको पाण्डेले बताए ।
प्रदेशका १० जिल्लामा १४ हजार ४५६ किलोमिटरभन्दा बढी सडकसञ्जाल र एक लाख ७३ हजारभन्दा बढी सवारीसाधन छन् । तिनको व्यवस्थापनमा ३३२ ट्राफिक प्रहरी खटिएका छन् । एक ट्राफिक प्रहरीले औसत ४३ दशमलव ५५ किलोमिटर सडक र ५५२ सवारीसाधनको निगरानी गर्नुपर्ने अवस्था छ ।
सीमित जनशक्तिबीच गत वर्ष ९० हजार ९८३ सवारीसाधनलाई कारबाही गरी नौ करोड तीन लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि गति मापन यन्त्र, स्वचालित नम्बर प्लेट पहिचान क्यामेरा, विद्युतीय जरिवाना प्रणाली र यातायात सञ्चार अनुप्रयोगको प्रयोग बढाइएको छ । साथै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पाण्डेले जानकारी दिए ।
कार्यालयले सडक अनुशासन, प्रविधिमैत्री निगरानी र जनचेतनालाई दुर्घटना नियन्त्रणका प्रमुख तथा प्रभावकारी आधार मानेको छ । दीर्घकालीन सुधारका लागि सडक संरचना र चालक व्यवहार सुधार आवश्यक देखिन्छ ।