सिन्धुली,२१ साउन — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ हाकपारामा बोलेरो दुर्घटना हुँदा एक शिशुसहित ६ जना घाइते भएका छन् । हेटौँडाबाट सिन्धुलीतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्या लय हेटौडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिहिवार बिहान करिब २ः४५ बजे मोरङको उर्लाबारी नगरपालिका–३ बस्ने ३१ वर्षीय किरण धिमालले चलाएको मे १ च ४४१६ नम्बरको बोलेरो गाडी सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनापछि बोलेरोमा सवार ६ जनालाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी महेन्द्रझ्याडीबाट प्रहरी सहायक निरीक्षक विष्णु प्रसाद दाहालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा परेको बोलेरो र चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी महेन्द्रझ्याडीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का करिब ३५ वर्षीय विचारसिंह लावतीको कानमा सामान्य चोट लागेको छ । सोही स्थानका १७ वर्षीय उज्वल राईको हात र छातीमा चोट लागेको भए पनि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ४७ वर्षीय रामकृष्ण तिमिल्सिनाको छाती र हातमा चोट लागेको छ । उनको अवस्था पनि सामान्य रहेको छ । इलामको माई नगरपालिका–५ समलटारकी २८ वर्षीया सरिता राईको दुवै हातमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा सरिता राईका ११ महिनाका छोरा सांगेन राईको टाउकोमा चोट लागेको छ । उनको अवस्था अन्य घाइतेको तुलनामा मध्यम रहेको प्रहरीले जनाएको छ । इलामकै माई नगरपालिका–५ समलटार बस्ने ३१ वर्षीया शर्मिला राई पनि दुर्घटनामा घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ । चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेकाले घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ ।