शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पत्रकारको आवरणमा हेरोइन कारोबारगर्ने तीन जना पक्राउ

बुधवार , श्रावण २०, २०८३


सिन्धुली,२० साउन – पत्रकारको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले सिन्धुलीबाट तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले दुधौली नगरपालिका–९ मा गरेको सवारी जाँचका क्रममा उनीहरूलाई ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको  लागु औषध नियन्त्रण ब्यूरो काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार सिराहाको मिर्चैयाबाट काठमाडौं जादै गरेको बा १६ च ७८४६ नम्बरको कार शंकास्पद देखिएपछि ब्यूरोको टोलीले रोकेर जाँच गरेको थियो । कारको बाहिरी तथा भित्री भाग जाँच गर्ने क्रममा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको  परिमाण ४४ दशमलव ३४० ग्राम रहेको खुलेको हो ।

घटनामा कार चालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ कै २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन् । उनीहरू तीनै जनालाई लागुऔषध र कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद लागुऔषध, कार र अन्य सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुधौली, सिन्धुलीमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रवक्ता ÷सूचना अधिकारी  दुर्गा राज रेग्मीले बताए । 

प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल ,घटनामा प्रयोग भएको बा १६ च ७८४६ नम्बरको कार र लागुऔषध सहित पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाइएको रेग्मीले जनाएको छ । 

पक्राउ परेका उमेश कुमार यादव ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमका समाचार रिपोर्टर रहेको प्रहरीको दाबी छ । यादवसँग सोही सञ्चारमाध्यमको नाम उल्लेख भएको प्रेस परिचयपत्र फेला परेको र उक्त परिचयपत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकारको परिचयपत्रसहित पक्राउ परेका यादवमाथि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाएको हो ।

प्रहरीको विज्ञप्तिअनुसार घटनामा प्रयोग भएको कार यादवले काठमाडौंको कलंकीस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

बरामद हेरोइन कहाँबाट ल्याइएको थियो, यसको गन्तव्य कहाँ थियो र कारोबारमा अरू व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ । प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि खुलाउन सम्बन्धित पक्षसँग आवश्यक सोधपुछसमेत निरन्तर जारी रहेको जनाएको छ ।

1.jpg
undefined

प्रतिक्रिया