सिन्धुली,२० साउन — सिन्धुलीको फिक्कल–२ मा तीन दिन अघि भएको कार दुर्घटनामा परी सुनकोशी नदीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सहमति जुटाउन बुधबार दिउँसो खुर्कोटमा बसेको बैठक निष्कर्षविहीन भएको छ । क्षतिपूर्ति दिने र लिने पक्षले प्रस्ताव गरेको रकममा ठूलो अन्तर देखिएपछि वार्ताबाट सहमतिको आधार तय हुन नसकेको हो ।
बैठकमा क्षतिपूर्ति दिने पक्षले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पीडित पक्षले भने प्रतिव्यक्ति पच्चीस लाख रुपैयाँ क्षतिपूर्ति मागेको थियो । दुवै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि छलफल कुनै निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले जानकारी दिए ।
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर दुईमा तीन दिनअघि भएको कार दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता भएकाको खोजी, घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्याय सुनिश्चित गर्नुपर्ने माग राख्दै परिवार तथा स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् ।
पीडित पक्षले यसअघि मध्यपहाडी लोकमार्गअन्तर्गत वाक्सुखोलामा केन्द्रित रहेर प्रदर्शन गरेको थियो । बुधबारदेखि आन्दोलनको केन्द्र खुर्कोट बनाइएको छ । आन्दोलनकारीले न्याय प्राप्त नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाउँदै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डमा यातायात सञ्चालन हुन दिएका छैनन् ।
लगातार तीन दिनदेखि लोकमार्ग अवरुद्ध हुँदा उक्त खण्ड भएर चल्ने सवारीसाधन बीच सडकमै रोकिएका छन् । बन्दका कारण सयौं यात्रु गन्तव्यमा पुग्न नसकी अलपत्र परेका छन् । यात्रुवाहक तथा अन्य सवारीसाधनको लाम लागे पनि यातायात खुलाउने विषयमा ठोस सहमति हुन सकेको छैन । लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरूले कठिनाइ बेहोर्नुपरेको छ ।
पीडित परिवार र स्थानीय बासिन्दाले दुर्घटनाका सम्बन्धमा स्पष्ट जवाफ, प्रभावकारी खोज तथा उद्धार, जिम्मेवारी निर्धारण र सम्मानजनक क्षतिपूर्तिको माग गरेका छन् । उनीहरूले घटनालाई सामान्य दुर्घटनाका रूपमा मात्र नलिई बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्न तथा पीडित परिवारले उठाएका प्रश्नको विश्वसनीय सम्बोधन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन ्।
खुर्कोटमा भएको वार्ताले निकास दिन नसकेपछि आन्दोलन कहिलेसम्म जारी रहने र अवरुद्ध यातायात कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ । क्षतिपूर्तिको रकममा देखिएको ठूलो अन्तर घटाउन तथा पीडित पक्षका अन्य माग सम्बोधन गर्न थप संवाद आवश्यक देखिएको छ ।
वार्ता निष्कर्षविहीन बनेसँगै पीडित परिवारको न्यायको माग, बेपत्ता व्यक्तिको खोजी र यात्रुको आवागमन सहज बनाउने विषय एकसाथ जटिल बनेका छन् । स्थानीय प्रशासन, जनप्रतिनिधि, पीडित परिवार र सम्बन्धित पक्षबीच तत्काल सार्थक संवाद नभए मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डमा उत्पन्न अवरोध अझ लम्बिन सक्ने देखिएको छ ।