सिन्धुली,२० साउन — एनेस्थेसियोलोजिस्टको काजफिर्तापछि सिन्धुली अस्पतालमा विगत एक सातादेखि शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको छ । अस्पतालमा कार्यरत एकमात्र एनेस्थेसियोलोजिस्टको काजफिर्ता भएपछि सामान्यदेखि आकस्मिक अवस्थाका बिरामीसमेत शल्यक्रिया सेवाबाट वञ्चित भएका हुन् ।
अस्पतालमा एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्न नसक्दा शल्यक्रियाका लागि पालो कुरिरहेका बिरामीले सास्ती बेहोर्नुपरेको छ । आकस्मिक अवस्थामा अस्पताल पुग्ने र सिन्धुलीमै शल्यक्रिया गर्न सकिने बिरामीलाई समेत अन्य अस्पतालमा पठाउनुको विकल्प नरहेको अस्पतालले जनाएको छ । यसबाट बिरामी तथा उनीहरूका परिवारमाथि उपचारका लागि टाढा जानुपर्ने बाध्यता थपिएको छ ।
सिन्धुली अस्पतालमा यसअघि दैनिक औसत चारदेखि पाँचवटा शल्यक्रिया हुँदै आएका थिए । नियमित रूपमा सञ्चालन भइरहेको सेवा जनशक्ति अभावका कारण एकाएक रोकिन पुग्दा अस्पतालको उपचार प्रणाली नै प्रभावित भएको छ । शल्यक्रिया आवश्यक पर्ने बिरामीको चाप कायमै रहे पनि बेहोस बनाउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा अघि बढाउन नसकिएको हो ।
अस्पतालमा एनेस्थेसियोलोजिस्ट अभावको समस्या देखिएको यो पहिलोपटक होइन । चार महिनाअघि पनि यही जनशक्ति अभावका कारण शल्यक्रिया सेवा बन्द भएको थियो। त्यसबेला बल्लतल्ल काजमा एक जना एनेस्थेसियोलोजिस्ट ल्याएर सेवा पुनः सञ्चालन गरिएको थियो । तर काजमा आएका ती चिकित्सकको काजफिर्ता भएसँगै अस्पताल फेरि पुरानै समस्यामा फर्किएको छ ।
अस्पतालको सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न न्यूनतम दुई जना एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने भए पनि अहिले एक जना पनि उपलब्ध छैनन् । पटकपटक एउटै कारणले अत्यावश्यक सेवा बन्द हुँदा अस्पतालको जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवाप्रतिको सरकारी प्राथमिकतामाथि प्रश्न उठेको छ ।
यहीबीच भिमानमा ट्रमा सेन्टर निर्माण गर्ने योजना अघि सारिएको छ । सहरी तथा भवन निर्माण आयोजना, रामेछापले ट्रमा सेन्टर निर्माणका लागि बिपी राजमार्ग छेउमा एक बिघा जग्गा व्यवस्थापन गरिदिन आग्रह गर्दै कमलामाई नगरपालिकालाई पत्र पठाएको छ ।
भिमानमा छुट्टै ट्रमा सेन्टर स्थापना गर्ने प्रस्ताव अघि बढाइए पनि सिन्धुली अस्पतालमा एक जना एनेस्थेसियोलोजिस्टसमेत व्यवस्थापन हुन नसकेको वर्तमान अवस्थाले त्यसको औचित्य र सञ्चालन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । सिन्धुली अस्पतालबाट करिब अठार किलोमिटर टाढा भिमानमा ठूलो भवन निर्माण गर्न सकिए पनि आवश्यक विशेषज्ञ जनशक्ति, उपकरण र अन्य स्रोतसाधनबिना त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु सहज देखिँदैन ।
चिकित्सकहरूका अनुसार सिन्धुली अस्पतालमै एक जना न्युरोसर्जन थप गरी स्वीकृत दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने र केही आवश्यक उपकरण उपलब्ध गराउने हो भने यही अस्पताललाई व्यवस्थित ट्रमा सेन्टरका रूपमा सञ्चालन गर्न सकिन्छ । सञ्चालनमा रहेको अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता हुँदाहुँदै नयाँ संरचना निर्माणतर्फ जोड दिइनुले सरकारको प्राथमिकतामाथि थप बहस सिर्जना गरेको छ ।
एकातिर विशेषज्ञ चिकित्सकको अभावमा दैनिक चारदेखि पाँचवटा शल्यक्रिया हुने अस्पतालको सेवा ठप्प छ भने अर्कातिर नजिकै अर्को ट्रमा सेन्टर बनाउने योजना अघि सारिएको छ । तत्काल आवश्यक जनशक्ति व्यवस्थापन नगरी नयाँ भवन निर्माणको योजना मात्र अघि बढाउँदा स्वास्थ्य सेवा सुधारभन्दा संरचना निर्माणमै राज्यको ध्यान केन्द्रित भएको देखिन्छ । स्रोत मंसिर चार ।