शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा ग्यासको अभाव कायमै

बुधवार , श्रावण २०, २०८३


सिन्धुली,२० साउन  — जिल्लामा केही दिनदेखि देखिएको खाना पकाउने ग्यासको अभाव अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन । बजारमा ग्यास आपूर्ति हुन थाले पनि उपभोक्ताले घरमा राखेका खाली सिलिन्डर एकैपटक खरिदगर्न खोजेपछि उपलब्ध परिमाणले माग धान्न नसकेको विक्रेताहरूले बताएका छन् ।

विक्रेता दिगम्बर चौधरीका अनुसार पछिल्लो समय चौध दशमलव दुई किलो तौलको भरिएको सिलिन्डर बजारमा आउन थालेको छ । तर लामो समयदेखि घरमा खाली सिलिन्डर राखेका उपभोक्ताले ती सबै सिलिन्डर एकैपटक साटेर ग्ग्या खरिद गर्न खोज्दा बजारमा ग्यासको माग अस्वाभाविक रूपमा बढेको हो । यसले नियमित आपूर्तिका बाबजुद उपभोक्ताको माग तत्काल पूरा गर्न कठिनाइ भएको उनको भनाइ छ ।

यसअघि ग्यासको आपूर्ति सहज बनाउन सात दशमलव एक किलो तौलको आधा सिलिन्डर वितरण गरिएको थियो । तर आधा परिमाणको सिलिन्डर लिन अधिकांश उपभोक्ताले खासै रुचि नदेखाएको विक्रेताको दाबी छ । उपभोक्ताले आधा सिलिन्डर लिनुभन्दा खाली सिलिन्डर घरमै राखेर पूर्ण तौलको सिलिन्डर पर्खिएका कारण अहिले बजारमा एकैपटक चाप बढेको बताइएको छ ।

“विगतमा सात दशमलव एक किलोको आधा सिलिन्डर वितरण गर्दा उपभोक्ताले खासै रुचि नदेखाएर खाली सिलिन्डर घरमै होल्ड गरेर राखे,” चौधरीले भने, “तर अहिले चौध दशमलव दुई किलोको भरी सिलिन्डर आउन थालेपछि घरमा भएका सबै खाली सिलिन्डर एकैपटक भर्न खोज्दा बजारमा कृत्रिम चाप बढ्यो ।”

विक्रेताले अहिले देखिएको अभाव आपूर्ति पूर्ण रूपमा बन्द भएका कारण मात्र नभई उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर एकैपटक भर्न खोजेका कारण पनि उत्पन्न भएको बताएका छन् । घरघरमा सञ्चित खाली सिलिन्डर एकै समयमा बजारमा आउँदा दैनिक रूपमा उपलब्ध हुने ग्यासले तत्कालको माग पूरा गर्न नसकेको उनीहरूको भनाइ छ ।

बजारमा ग्यासका सिलिन्डर आउन थाले पनि मागको अनुपातमा आपूर्ति पर्याप्त नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । केही दिनदेखि जारी अभावका कारण उपभोक्ता ग्यास प्राप्त गर्न विक्रेताकहाँ पुगिरहेका छन् । तर बजारमा उपलब्ध सिलिन्डरभन्दा भर्न ल्याइएका खाली सिलिन्डरको संख्या बढी भएपछि वितरण व्यवस्थापनमा समस्या देखिएको छ ।

विक्रेताहरूले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिन्डर एकैपटक साटन खोज्नुको सट्टा तत्काल आवश्यक सिलिन्डर मात्र भरेमा बजारको चाप क्रमशः कम हुन सक्ने बताएका छन् । नियमित आपूर्ति जारी रहे पनि एकैपटक बढेको माग सामान्य अवस्थामा नफर्किएसम्म सिन्धुलीमा खाना पकाउने ग्यासको अभाव पूर्ण रूपमा हट्न अझै केही समय लाग्ने देखिएको छ ।

 

प्रतिक्रिया