शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा लागु पर्दाथ सहित पाँच जना प्रहरीको नियन्त्रणमा

बुधवार , श्रावण २०, २०८३

 

सिन्धुली — प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमान क्षेत्रमा लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । अलग–अलग कारबाहीमा खैरो हेरोइनजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। 

आलुको बोराभित्र लुकाएर महोत्तरीबाट काठमाडौं लादै गरेको ४५ दशमलव ११० ग्राम खैरो हेरोइनसहित सिन्धुलीमा तीन युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबासस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानस्थित बीपी राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार महोत्तरीबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस जाँच गर्दा त्यसमा सवार सिरहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथमा रहेको आलुको बोराभित्र खैरो हेरोइन लुकाइएको अवस्थामा फेला परेको थियो । प्रहरीले यादवलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरल जनाएको छ ।

थप अनुसन्धानका क्रममा बरामद लागुऔषध काठमाडौंसम्म लैजान सघाउँदै उक्त हाइसलाई मोटरसाइकलबाट पछ्याइरहेका थप दुई युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेक कुमार साह छन् ।

प्रहरीले उनीहरूका साथबाट बागमती प्रदेश ०२–०४६ प ४६८५३ नम्बरको एक थान मोटरसाइकल र एक थान मोबाइलसमेत बरामद गरेको छ । 

यसैबीच, मंगलबारनै बिहान सिन्धुलीको भिमान क्षेत्रमा गरिएको अर्को कारबाहीमा मोरङबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ निवासी ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ निवासी २४ वर्षीय सागर कार्की रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाइएको ब्युरोले जनाएको छ ।

3.jpg

 

 

प्रतिक्रिया