शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनकोसी दुर्घटना खोजी जारी, क्षतिपूर्ति माग्दै मध्यपहाडी लोकमार्ग ठप्प

मंगलवार , श्रावण १९, २०८३


सिन्धुली,१९ साउन — सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोसी नदीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजी कार्य मंगलबार पनि निरन्तर जारी रहे पनि उनीहरू तथा कारको अवस्था अझै पत्ता लाग्न सकेको छैन । दुर्घटनापछि पीडित परिवार, आफन्त र स्थानीयवासीले खोजी कार्य थप प्रभावकारी बनाउन, पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दुर्घटनाका जिम्मेवारमाथि कानुनी कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध गरेका छन् ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको सहभागितामा मंगलबार बिहानदेखि सुनकोसी नदीमा व्यापक खोजी अभियान सञ्चालन भइरहेको छ । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक विष्णु पौडेलले २० जना गोताखोर, २० जना नेपाल प्रहरी र दुई वटा डुङ्गा परिचालन गरी खोजी भइरहेको जानकारी दिँदै नदीमा पानीको बहाव अत्यधिक रहेकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको बताए । उनका अनुसार स्थानीयवासीले पनि खोजी अभियानमा सक्रिय सहयोग गरिरहेका छन्, तर अहिलेसम्म बेपत्ता व्यक्ति वा कार फेला पर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ११ः४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ गइरहेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बस ले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कार लाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा तथा तीनपाटन गाउँपालिका–९, डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित नदीमा बेपत्ता भएका छन् ।

घटनापछि आक्रोशित स्थानीयवासी र पीडितका आफन्तले गोलन्जोर र फिक्कल गाउँपालिकाको सिमानास्थित वाक्सुखोलामा टायर बालेर चक्काजाम गरेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालका अनुसार सडक किनारमा रोकिएको कारलाई बस चालकको लापरबाहीका कारण पछाडिबाट ठक्कर दिइएकाले दुर्घटना भएको हो। प्रहरीले बस चालक र बसलाई सोमबार नै नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया