मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुली अस्पतालको ओपीडी ठप्प, आकस्मिक सेवा निरन्तर

मंगलवार , श्रावण १२, २०८३


सिन्धुली,१२ साउन – वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको भौतिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले मंगलबार आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालको बहिरंग (ओपीडी) सेवा पूर्ण रूपमा स्थगन गरिएको हो ।

बहिरंग सेवा बन्द भएपछि नियमित स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा उपचारका लागि अस्पताल पुगेका बिरामीले सेवा पाउन सकेनन् । विशेषगरी टाढा–टाढाका ग्रामीण क्षेत्रबाट उपचारको अपेक्षा लिएर आएका बिरामी तथा उनीहरूका आफन्त बढी प्रभावित भएका छन् । सेवा बन्दबारे पूर्वजानकारी नपाएका कतिपय सेवाग्राही अस्पताल पुगेपछि मात्र बहिरंग सेवा स्थगित भएको थाहा पाउँदा समस्यामा परेका थिए ।

गएको साउन ९ गते पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । उक्त घटनाको विरोध तथा दोषीमाथि कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । संघको सोही घोषणाअनुसार सिन्धुली अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बहिरङ्गलगायतका नियमित सेवा स्थगन गरेका हुन् ।

अस्पताल प्रशासनले बिरामीको संवेदनशील अवस्थालाई ध्यानमा राखी आकस्मिक सेवा भने चौबीसै घण्टा सञ्चालनमा रहेको जनाएको छ । तत्काल उपचार आवश्यक भएका आकस्मिक बिरामी तथा निरन्तर उपचार र निगरानीमा राख्नुपर्ने गम्भीर अवस्थाका बिरामीको सेवा नियमित रूपमा सञ्चालन भइरहेको प्रशासनले स्पष्ट पारेको छ ।

सिन्धुली अस्पतालका चिकित्सकहरूले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने भौतिक आक्रमण र अस्पतालमा गरिने तोडफोडले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाएको बताएका छन् । उनीहरूले नारायणी अस्पतालमा भएको घटनाको भत्र्सना गर्दै आक्रमणमा संलग्न दोषीको पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्न पाउने अवस्था सुनिश्चित नभएसम्म ढुक्क भएर स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुने बताएका छन् । उनीहरूले चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी र स्वास्थ्य संस्थाको सुरक्षाका लागि सरकारले तत्काल प्रभावकारी तथा ठोस सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।

आकस्मिक रूपमा बहिरंग सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सिन्धुली अस्पताल प्रशासनले दुःख व्यक्त गरेको छ । प्रशासनले औपचारिक सूचना जारी गर्दै नियमित उपचारका लागि आएका बिरामी तथा उनीहरूका परिवारसँग क्षमायाचना गरेको छ । अस्पतालले आन्दोलनका क्रममा आकस्मिक सेवा भने कुनै अवरोधबिना निरन्तर सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया