सिन्धुली,०७ साउन — नेपाल कम्युनिस्ट पार्टी (एमाले) मरिण गाउँपालिका कमिटीले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मरणमा ४८औँ पुष्पलाल स्मृति दिवस भव्य तथा उत्साहपूर्ण रूपमा मनाएको छ । मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुष्पलालको राजनीतिक जीवन, वैचारिक योगदान र नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) सिन्धुली जिल्ला इन्चार्ज प्रदीप कटुवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । पार्टीका सल्लाहकार राम कुमार पौडेलको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । प्रमुख अतिथि कटुवालले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालको जीवन, राजनीतिक संघर्ष, योगदान र विचारका सम्बन्धमा संक्षिप्त जानकारी दिएका थिए ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन पुष्पलालले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे । पुष्पलालले अघि सारेको राजनीतिक तथा वैचारिक मान्यताले नेपाली कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण आधार निर्माण गरेको विषयमा समेत कार्यक्रममा चर्चा गरिएको थियो ।
स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टी संगठनको वर्तमान भूमिका तथा नेकपा (एमाले) का आगामी कार्यदिशाका विषयमा पनि छलफल गरिएको थियो । सहभागीहरूले पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउन संगठनात्मक सक्रियता तथा वैचारिक स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए ।
वक्ताहरूले पुष्पलाल स्मृति दिवसलाई केवल औपचारिक स्मरणका रूपमा सीमित नराखी उहाँले अघि सार्नुभएको राजनीतिक विचार, लोकतान्त्रिक मूल्य र सामाजिक रूपान्तरणको मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । पुष्पलालको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै पार्टी संगठनलाई जनमुखी, अनुशासित र सक्रिय बनाउँदै लैजानुपर्ने आवश्यकता पनि कार्यक्रममा औँल्याइएको थियो ।
मरिण गाउँपालिका कमिटीले आयोजना गरेको स्मृति दिवस कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्दलाल माझी र कौशल कोइरालाको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी रामकुमार उप्रेती, नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटीका सदस्य अशोक गिरी, देव घिसिङ, सम्मु कार्कीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए ।
स्थानीय नेता, कार्यकर्ता तथा पार्टीका विभिन्न संरचनामा आबद्ध प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । पुष्पलालको योगदानको स्मरण, समसामयिक राजनीतिक विषयको समीक्षा र पार्टीका आगामी कार्यदिशासम्बन्धी छलफलसहित कार्यक्रम भव्य, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।