सिन्धुली,३१ जेठ – सिन्धुलीकी मेनुका ठकुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश महामन्त्री पदमा निर्वाचित भएकी छिन् । पार्टी स्थापना भएदेखि नै सक्रिय राजनीतिक भूमिकामा रहँदै आएकी ठकुरीले प्रदेश तहको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि सिन्धुलीसहित बागमती प्रदेशमा उनको राजनीतिक उपस्थितिलाई थप सुदृढ भएको रूपमा हेरिएको छ ।
रास्वपाको प्रारम्भिक संगठन निर्माणदेखि नै पार्टी गतिविधिमा संलग्न रहँदै आएकी ठकुरीले विभिन्न चरणमा संगठन विस्तार र राजनीतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन् । पार्टीभित्रको निरन्तर सक्रियता र संगठनप्रतिको प्रतिबद्धताका आधारमा उनी बागमती प्रदेशको महामन्त्री पदमा निर्वाचित भएकी हुन् ।
ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिएकी थिइन् । त्यतिबेला नवगठित दलका रूपमा रहेको रास्वपाका लागि धेरै स्थानमा उम्मेदवार व्यवस्थापन नै चुनौतीपूर्ण बनेको अवस्थामा उनले उम्मेदवारी दिएर निर्वाचन प्रतिस्पर्धामा सहभागिता जनाएकी थिइन् ।
निर्वाचन अभियानका क्रममा सीमित स्रोत–साधन र कमजोर संगठनात्मक संरचनाबीच उनले व्यक्तिगत पहलमै प्रचार–प्रसारलाई अगाडि बढाएकी थिइन् । उम्मेदवार नै भेट्न कठिन भएको त्यस समय उनले एक्लै चुनावी अभियान सञ्चालन गर्ने साहस देखाएकी थिइन्, जसले उनको राजनीतिक सक्रियता र प्रतिबद्धतालाई झल्काएको थियो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट प्रतिस्पर्धा गरेकी ठकुरीले कुल २ हजार ६९२ मत प्राप्त गरेकी थिइन् । निर्वाचन परिणाम अपेक्षित नभए पनि उनले पार्टीको संगठन निर्माण तथा वैकल्पिक राजनीतिक धारलाई स्थापित गर्ने अभियानमा निरन्तर सक्रिय भूमिका खेल्दै आएकी थिइन् ।
बागमती प्रदेश महामन्त्री पदमा उनको निर्वाचनलाई रास्वपाभित्र लामो समयदेखि योगदान पु¥याउँदै आएका नेतृको जिम्मेवारीपूर्ण उन्नतिको रूपमा समेत लिइएको छ । प्रदेशस्तरीय नेतृत्वमा पुगेपछि संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा पार्टीका नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा उनीमाथि रहेको छ ।