मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

छात्रा र युवा खेलाडीको प्रतिभा उजागर गर्दै कमलामाई

शुक्रवार , जेठ २९, २०८३

सिन्धुली,२९ जेठ  — कमलामाई नगरपालिकाले युवा तथा छात्रा खेलाडीहरूको प्रतिभा पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरेको तेस्रो मेयर कप अन्तरविद्यालय यू–१६ छात्रा कबड्डी प्रतियोगिता–२०८३ तथा दोस्रो मेयर कप खुला क्रिकेट प्रतियोगिता–२०८३ को शुक्रवार उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ  नगरभित्रका छात्रा तथा युवा खेलाडीहरूमा रहेको खेल प्रतिभाको प्रस्फुटन र विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विशेषगरी विद्यालय तहका छात्राहरूलाई प्रतिस्पर्धात्मक खेलकुदमा सहभागी गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्ने लक्ष्य प्रतियोगिताले बोकेको बताइएको छ ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, सहकार्य र सामूहिक भावनाको विकास गर्ने महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । उनले यस्ता प्रतियोगिताले छात्राहरूलाई खेलकुदको मूल प्रवाहमा ल्याउने, उनीहरूमा रहेको लुकेको प्रतिभा उजागर गर्ने तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरे ।

नगर प्रमुख पोखरेलले कमलामाई नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरूको वृत्तिविकास तथा क्षमता अभिवृद्धिका लागि नगरपालिका निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे । आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै खेल पूर्वाधार निर्माण, खेलकुदको संस्थागत विकास तथा खेलाडीमैत्री वातावरण सिर्जनामा थप जोड दिइने उनको भनाइ थियो ।

कार्यक्रमका अवसरमा आयोजक समितिले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण विद्यालय, सहभागी खेलाडी, खेल सञ्चालक, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ । स्थानीय तहमा खेलकुद संस्कृतिको विकास र प्रतिभा उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गरिएको छ ।

कमलामाई नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उदघाटन समारोहमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला कबड्डी संघका अध्यक्ष इन्दिरा पोखरेल, नगर खेलकुद विकास समितिका पदाधिकारी, क्रिकेट संघका अध्यक्ष, विभिन्न विद्यालयका खेलाडी, खेलकुदकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया