सिन्धुली,२९ जेठ— नेकपा (एमाले) भित्र भावी नेतृत्वका सम्भावित पात्रका रूपमा चर्चामा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (शनिवार) सिन्धुली आउने कार्यक्रम तय भएको छ । पार्टीभित्र संगठनात्मक बहस र नेतृत्वसम्बन्धी छलफल चलिरहेका बेला उनको सिन्धुली भ्रमणलाई एमाले वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
यद्यपि भण्डारीको यो भ्रमण प्रत्यक्ष रूपमा पार्टीगत कार्यक्रमसँग सम्बन्धित भने छैन । माढीबजारस्थित गौमती माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटनका लागि उनी प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेकी हुन् । विद्यालय प्रशासनले उक्त कार्यक्रमको पुष्टि गरेको छ ।
पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरण र आगामी महाधिवेशनका सन्दर्भमा भण्डारीको नाम चर्चामा छ । उनले नेपाल सरकारले पूर्व राष्ट्रपतिलाई उपलब्ध गराउँदै आएका सबै सुविधा त्याग्दै पुनः सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमालेभित्र उनको भूमिकालाई लिएर बहस तीव्र बनेको हो ।
यसअघि अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि भने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदको सम्भावित दाबेदारका रूपमा उनको चर्चा बढेपछि पार्टी सदस्यता स्थगन गरिएको थियो । अहिले भने अध्यक्ष ओलीकै प्रस्तावमा सचिवालय बैठकबाट सदस्यता पुनः सक्रिय बनाइएको थियो ।
एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको सम्भावनाबारे चर्चा चलिरहेका बेला विभिन्न कम्युनिष्ट घटकको साझा नेतृत्व भण्डारीले गर्न सक्ने विषय आन्तरिक रूपमा उठ्न थालेको बताइन्छ । यही पृष्ठभूमिमा उनको सिन्धुली आगमनलाई राजनीतिक दृष्टिले समेत अर्थपूर्ण रूपमा विश्लेषण गर्न थालिएको छ ।
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पूर्व राष्ट्रपति भण्डारीको सिन्धुली भ्रमण निश्चित भइसकेको जानकारी दिए । गौमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका घिसिङका अनुसार विद्यालय भवन उदघाटनको कार्यक्रम यसअघि नै तय गरिएको भए पनि ‘जेनजी विद्रोह’ अघि सम्पन्न हुन सकेको थिएन ।
“जेनजी विद्रोह अगाडिनै विद्यालय भवन उदघाटन गर्ने कार्यक्रम थियो, गर्न सकिएन, अब सहज भएको छ, त्यसैले उहाँलाईनै ल्याउने निर्णय गरेका हौं,” घिसिङले बताए ।
सिन्धुली एमाले लामो समयदेखि आन्तरिक रूपमा दुई समूहमा विभाजित रहेको मानिन्छ । जिल्ला अधिवेशनदेखि ११औँ राष्ट्रिय महाधिवेशनसम्म देखिएको गुटगत असन्तुष्टि अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । यस्तो अवस्थामा भण्डारीले जिल्लामा एमाले नेता–कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार ‘जेनजी विद्रोह’पछि प्रतिरक्षात्मक अवस्थामा पुगेको भनिएको एमालेका लागि भण्डारीको सक्रियता र उनको सिन्धुली भ्रमणले कार्यकर्तामा नयाँ ऊर्जा थप्न सक्ने अपेक्षा गरिएको छ ।
यसैबीच एमाले बागमती प्रदेशको नेतृत्व पुनर्गठन गर्ने वा नगर्ने विषयमा सुझाव संकलन गर्न प्रदेशस्तरीय भेला भोलि काठमाडौंको कोटेश्वरमा आयोजना हुँदैछ । प्रदेश नेतृत्वको भावी स्वरूपबारे छलफल चलिरहेका बेला पूर्व राष्ट्रपति भण्डारीको सिन्धुली भ्रमणले एमालेभित्रको राजनीतिक बहसलाई थप रोचक बनाएको छ ।