शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कालोसूचीमा रहेकी सुनिता गजुरेल रास्वपा सिन्धुली जिल्ला सदस्यमा निर्वाचित

आइतवार , जेठ २४, २०८३

सिन्धुली,२४ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी सुनिता गजुरेल कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ । चेक अनादरसम्बन्धी प्रकरणका कारण उनी कालोसूचीमा परेकी हुन् भने उनीविरुद्ध हाल सिन्धुली जिल्ला अदालतमा मुद्दासमेत विचाराधीन रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार ३३ लाख रुपैयाँ बराबरको चेक नसाटिएपछि कर्जा सूचना केन्द्रले  २०८० असोज २१ गते सुनिता गजुरेललाई कालोसूचीमा राखेको थियो । उनी हाल निर्माण व्यवसायी संघ सिन्धुलीकी सदस्यसमेत रहेकी छन् ।

स्रोतहरूका अनुसार सुनिता गजुरेलका श्रीमानसहित शेयरधनी रहेको टीबीआर कन्स्ट्रक्सन नामक कम्पनी पनि कालोसूचीमा रहेको बताइएको छ । यद्यपि यस सम्बन्धमा कम्पनीको औपचारिक धारणा सार्वजनिक भएको छैन ।

सुनिता गजुरेल नकपा क्रान्तिकारी माओबादीका बरिष्छ नेता तथा  सिन्धुलीका पूर्व सांसद सीपी गजुरेलकी बुहारी तथा प्रतिनिधिसभा सदस्य आशीष गजुरेलकी भाउजू हुन् । स्रोतहरूको दाबीअनुसार आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनलाई कमलामाई नगरपालिकाको उपमेयर पदका सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने तयारीस्वरूप जिल्ला कमिटीमा समावेश गरिएको हो ।

जेठ २३ गते सम्पन्न रास्वपा सिन्धुलीको जिल्ला अधिवेशनमा अधिकांश पदका लागि निर्वाचन भएको थियो । तर महिलातर्फ सुनिता गजुरेल र सूर्यकुमारी गौतम निर्विरोध निर्वाचित भएका थिए ।

राजनीतिक दलहरूको प्रचलित विधान तथा आन्तरिक आचारसंहिताअनुसार कालोसूचीमा रहेका वा गम्भीर प्रकृतिका मुद्दा सामना गरिरहेका व्यक्तिलाई पार्टी संरचनामा जिम्मेवारी दिने विषय संवेदनशील मानिन्छ । उम्मेदवार वा सदस्य बन्नुअघि सम्बन्धित व्यक्तिबाट आफू कालोसूचीमा नरहेको तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको स्वघोषणा गराउने अभ्यास पनि धेरै दलमा रहेको पाइन्छ ।

वित्तीय अनुशासनसँग जोडिएको चेक अनादरको विषयलाई सामान्यतया गम्भीर प्रकृतिको आर्थिक आचरणसम्बन्धी मुद्दाका रूपमा हेरिने गरिन्छ। यद्यपि यस्ता पृष्ठभूमि भएका व्यक्तिको पार्टी संरचनामा प्रवेशलाई लिएर स्थानीय राजनीतिक वृत्तमा विभिन्न टिप्पणी र प्रश्नहरू उठ्न थालेका छन् ।

1.jpg
undefined

स्रोतका अनुसार सुनिता गजुरेल कालोसूचीमा रहेको विषय निर्वाचन समितिका पदाधिकारी तथा सांसद आशीष गजुरेलसमक्ष निर्वाचनअघि नै पुगेको थियो । उक्त जानकारी गराइएपछि सांसद गजुरेलले “म बुझ्छु” भन्दै प्रतिक्रिया दिएको स्रोतको दाबी छ ।

यस विषयमा प्रतिक्रिया माग्दा नवनिर्वाचित जिल्ला सदस्य सुनिता गजुरेलले आफूलाई लक्षित गरी चरित्रहत्या गर्ने उद्देश्यले कालोसूचीमा राखिएको र मुद्दा दायर गरिएको बताइन् । उनले यस प्रकरणलाई व्यक्तिगत रूपमा आफूविरुद्ध गरिएको अभियानका रूपमा व्याख्या गरिन् ।

2.jpg
undefined

तर वित्तीय तथा बैंकिङ क्षेत्रका जानकारहरू भने कालोसूचीमा समावेश गर्ने प्रक्रिया निश्चित कानुनी तथा प्रशासनिक आधारमा मात्र अघि बढ्ने बताउँछन् । उनीहरूका अनुसार कुनै व्यक्तिलाई मनोगत आधारमा वा चरित्रहत्या गर्ने उद्देश्यले मात्र कालोसूचीमा राख्न मिल्दैन । सम्बन्धित व्यक्तिले जारी गरेको चेक बैंकमा प्रस्तुत भएपछि खातामा पर्याप्त रकम उपलब्ध नभई पटक–पटक भुक्तानी असफल भएको अवस्थामा निर्धारित प्रक्रिया पूरा गरी मात्र कालोसूचीमा राख्ने व्यवस्था रहेको उनीहरूको भनाइ छ ।

4.jpg

रास्वपा सिन्धुलीको जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यसम्बन्धी यो विषय सार्वजनिक भएसँगै पार्टीको उम्मेदवार छनोट प्रक्रिया, आन्तरिक मापदण्ड तथा जिम्मेवार पदमा चयन गरिने व्यक्तिको पृष्ठभूमि परीक्षणबारे समेत प्रश्न उठ्न थालेका छन् ।

प्रतिक्रिया