सिन्धुली,२१ जेठ — बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सिन्धुलीको कमलामाई नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राखेको घोषणा गरेको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता ः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित बुधबार आयोजित विशेष समारोहमार्फत नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको स्थानीय तहका रूपमा औपचारिक घोषणा गरिएको हो ।
घोषणा समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले कमलामाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको नगरका रूपमा घोषणा गर्न पाउनु सम्पूर्ण नगरवासीका लागि गौरवको विषय भएको बताए । बालबालिकाको स्वास्थ्य नै नगरको सुरक्षित र समुन्नत भविष्यको आधार भएको उल्लेख गर्दै उनले खोप अभियानलाई सफल बनाउन निरन्तर खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा आम नगरवासीप्रति आभार व्यक्त गरे ।
उनले घोषणा प्राप्त गर्नु मात्रै अन्तिम उपलब्धि नभई यसको निरन्तरता र दिगोपना कायम राख्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे । आगामी दिनमा पनि नगरपालिकाले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्थानीय स्रोत, समुदायको स्वामित्व र जनसहभागितालाई थप प्रभावकारी ढंगले परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन । कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटा तथा जनस्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक गुजेश्वर श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
त्यसैगरी कार्यपालिका सदस्य, वडा सदस्य, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी, वडा नम्बर १ देखि १४ सम्मका स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंसेविका, ह्यान्ड्स नेपालका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सामूहिक रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्णखोप अभियानको दिगोपनाका लागि साझा संकल्प व्यक्त गरेका थिए । प्रतिबद्धतापत्रमार्फत नगरभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको जनाइएको छ ।
साथै भविष्यमा जुनसुकै अवस्था वा परिस्थितिमा पनि नगरपालिकाभित्रका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने अठोटसमेत व्यक्त गरिएको छ । यस प्रतिबद्धताले पूर्णखोप उपलब्धिको निरन्तरता कायम राख्न तथा खोप सेवाको पहुँचलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नगरपालिकाले अघि सारेको “स्वच्छ, सफा र समृद्ध शहर, हिमाल र तराईको मिलनविन्दु कमलामाई नगर” भन्ने दीर्घकालीन संकल्पलाई स्वास्थ्य क्षेत्रको यस उपलब्धिले थप सशक्त बनाएको सरोकारवालाहरूको भनाइ छ । स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेविका, विकास साझेदार संस्था तथा समुदायको संयुक्त प्रयासबाट हासिल भएको यो उपलब्धिलाई नगरको सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गाका रूपमा हेरिएको छ ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण पक्षप्रति नगरपालिकाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बालस्वास्थ्य संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।