शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सरकार राष्ट्रघाततर्फ उन्मुख हुँदैछ : कर्ण घिसिङ

बुधवार , जेठ २०, २०८३


सिन्धुली,२० जेठ – नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले वर्तमान सरकारका पछिल्ला गतिविधि राष्ट्रहितविपरीत दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् । कमलामाई नगरपालिका–७ मा आयोजित एमाले टोल कमिटीको बैठक तथा भेलालाई सम्बोधन गर्दै उनले सरकार गठन भएको छोटो अवधिमै जनस्तरमा असन्तुष्टि बढ्न थालेको दाबी गरे ।

उपाध्यक्ष घिसिङले सरकार गठन भएको दुई महिना नपुग्दै विभिन्न निर्णय र गतिविधिका कारण नागरिक तहमा विरोधका स्वर सुनिन थालेको उल्लेख गरे । उनका अनुसार गरिब, असहाय, भूमिहीन तथा सुकुम्वासी समुदायमाथि अन्याय र दबाब बढ्दै गएको छ भने परिवर्तनको नारा बोकेर आएका शक्तिहरू समेत जनअपेक्षाविपरीत गतिविधिमा संलग्न हुन थालेका छन् ।

सरकारका हरेक कदमले आम नागरिकमा आक्रोश र निराशा बढाउँदै लगेको दाबी गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई कुनै पनि परिस्थितिमा विचलित नहुन आग्रह गरे । निर्वाचनमा पराजित भएको अवस्थामा पनि जनताका समस्या समाधान र विकास निर्माणका कार्यमा पार्टी निरन्तर सक्रिय रहने विश्वास उनले व्यक्त गरे ।

घिसिङले वर्तमान सरकार विदेशी, विशेषगरी अमेरिकी स्वार्थअनुसार सञ्चालन हुन थालेको आरोपसमेत लगाए । उनले राष्ट्रहितविपरीत हुने निर्णय र गतिविधिविरुद्ध सबै देशभक्त शक्ति तथा नागरिक एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा एमाले सिन्धुलीका उपसचिव दीपेश बरालले पनि मन्तव्य व्यक्त गर्दै पार्टी कमिटीका नेता तथा कार्यकर्ताले वर्तमान परिस्थितिमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारे । उनले वर्तमान सरकार श्रमजीवी, किसान तथा मजदुर वर्गको हितविपरीत ढंगले अघि बढिरहेको आरोप लगाउँदै सरकार राष्ट्रघाततर्फ अग्रसर भएको टिप्पणी गरे ।

बरालले पार्टी संगठनलाई अझ सुदृढ र जनतामुखी बनाउँदै स्थानीय तहसम्म पार्टीका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न नेता–कार्यकर्तालाई आह्वान गरे । उनले जनताका समस्या, आवश्यकता र अपेक्षासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्नेमा जोड दिए ।

टोल कमिटी अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठक तथा भेलामा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको सहभागीहरूले बताएका छन् ।

 

 

प्रतिक्रिया