शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मिसन पार्टी जागरणमा एमालेको जोड

सिन्धुलीका सबै पालिकामा केन्द्रीय प्रतिनिधि खटाइए

शनिवार , जेठ १६, २०८३

सिन्धुली,१७ जेठ — नेकपा (एमाले) ले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा जनसम्पर्क विस्तारलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘मिसन पार्टी जागरण’ अभियानका लागि सिन्धुली जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ । पार्टीको हालै सम्पन्न सचिवालय बैठकले अभियानलाई देशव्यापी रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्लास्तरसम्म जिम्मेवारी बाँडफाँट गरिएको हो ।

एमालेले अभियानलाई केवल संगठनात्मक कार्यक्रमका रूपमा नभई पार्टीको वैचारिक सुदृढीकरण, कार्यकर्ताबीचको समन्वय अभिवृद्धि तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने माध्यमका रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ । यही उद्देश्यअनुसार अन्तरपार्टी निर्देशनमार्फत विभिन्न पालिकामा अनुभवी तथा जिम्मेवार नेताहरूलाई ‘केन्द्रीय प्रतिनिधि’ का रूपमा खटाइएको हो ।

जिल्लामा रहेका नौवटै स्थानीय तहका लागि फरक–फरक नेताहरूलाई जिम्मेवारी दिइएको छ । प्राप्त विवरणअनुसार कमलामाई नगरपालिकाको जिम्मेवारी निरकुमारी कुँवर (निरु दर्लामी) लाई प्रदान गरिएको छ । त्यसैगरी दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाको जिम्मेवारी विषमलाल अधिकारी दनुवारलाई तोकिएको छ ।

गोलन्जोर गाउँपालिकामा सुभाष देवकोटा, फिक्कल गाउँपालिकामा प्रदीपकुमार कटुवाल तथा घ्याङलेख गाउँपालिकामा पनि प्रदीपकुमार कटुवाललाई नै जिम्मेवारी दिइएको छ । यस्तै सुनकोशी गाउँपालिकामा मनोजजंग थापा, मरिण गाउँपालिकामा कमलजंग राई तथा तिनपाटन गाउँपालिकामा गणेशकुमार पहाडीलाई अभियान सञ्चालनको जिम्मेवारी प्रदान गरिएको एमालेले जनाएको छ ।

पार्टीले ‘मिसन पार्टी जागरण’ अभियानलाई आगामी दिनमा संगठनात्मक पुनर्जागरणको महत्वपूर्ण आधारका रूपमा लिएको छ । अभियानमार्फत पार्टी सदस्यहरूको अवस्था, संगठनको प्रभावकारिता, जनस्तरमा रहेका अपेक्षा तथा स्थानीय तहका समस्याबारे प्रत्यक्ष जानकारी संकलन गरिने जनाइएको छ । साथै कार्यकर्ताको मनोबल अभिवृद्धि गर्दै पार्टीका नीति, कार्यक्रम र दृष्टिकोणलाई आम नागरिकसमक्ष पु¥याउने लक्ष्य पनि अभियानले बोकेको छ ।

एमाले नेतृत्वका अनुसार स्थानीय तहसम्म पुग्ने यो अभियानले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउनुका साथै संगठनलाई थप चलायमान र जनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो राजनीतिक परिवेशमा पार्टी संगठनलाई आधार तहसम्म पुनः सक्रिय बनाउने उद्देश्यले अभियानलाई विशेष महत्व दिइएको बताइएको छ ।

सिन्धुलीमा खटाइएका प्रतिनिधिहरूले सम्बन्धित पालिकामा पुगेर कार्यकर्ता भेटघाट, संगठनात्मक अवस्था मूल्यांकन, सुझाव संकलन तथा जनसमुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम सञ्चालन गर्नेछन् । अभियानका क्रममा प्राप्त सुझाव तथा निष्कर्षलाई पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने व्यवस्था पनि गरिएको छ ।

एमालेले देशभर एकैसाथ सञ्चालन गर्ने यस अभियानलाई आगामी राजनीतिक तथा संगठनात्मक तयारीको महत्वपूर्ण चरणका रूपमा लिएको छ । सिन्धुलीमा समेत जिम्मेवारी बाँडफाँट भएसँगै अभियानले अब स्थानीय तहसम्म तीव्रता पाउने अपेक्षा गरिएको छ । पार्टी नेतृत्वले अभियानमार्फत संगठनको आधार विस्तार, कार्यकर्ताको सक्रियता वृद्धि तथा जनविश्वास सुदृढ गर्ने लक्ष्य राखेको जनाएको छ ।जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि खटाइएपछि अभियान सञ्चालनमा थप गति आउने अपेक्षा गरिएको छ । स्थानीय नेतृत्व र कार्यकर्तासँगको समन्वयमा अभियानलाई व्यापक बनाउँदै पार्टीका नीति, कार्यक्रम र उपलब्धिबारे जनस्तरसम्म सन्देश प्रवाह गर्ने एमालेको तयारी रहेको छ ।

पार्टीका नेताहरूका अनुसार अभियान केवल संगठन विस्तारमा सीमित नरही जनताका अपेक्षा, सुझाव र स्थानीय तहका समस्याबारे प्रत्यक्ष जानकारी संकलन गर्ने माध्यमसमेत बन्नेछ । यसले आगामी राजनीतिक तथा संगठनात्मक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ ।

प्रतिक्रिया