शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिमा छ, तर सेवा चलाउन पैसा छैन : सिन्धुली अस्पतालको पीडा

शुक्रवार , जेठ ८, २०८३


सिन्धुली,०८ जेठ — जिल्ला अस्पतालको जिम्मेवारी बोकेको सिन्धुली अस्पताल अहिले आर्थिक संकट, जनशक्ति अभाव र बढ्दो बिरामी चापबीच सेवा धान्न संघर्षरत अवस्थामा पुगेको छ । स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गरिरहेका हजारौँ बिरामीको सेवा निरन्तर चलाइरहेको अस्पतालले सरकारबाट पाउनुपर्ने करोडौँ रुपैयाँ लामो समयदेखि नपाउँदा अवस्था जटिल बनेको जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार गत वर्षको कात्तिक महिनासम्मकै करिब २ करोड ८० लाख रुपैयाँ भुक्तानी आउन बाँकी छ । त्यसपछिका महिनाहरू जोड्दा अहिले कुल बक्यौता झण्डै १० करोड रुपैयाँ पुगेको अस्पतालको दाबी छ । यही रकम नआउँदा अस्पतालको दैनिक सञ्चालनदेखि औषधि खरिद, ल्याब सेवा, उपकरण मर्मत र स्वास्थ्यकर्मी व्यवस्थापनसम्म प्रत्यक्ष असर परेको छ ।

“बिमाका बिरामीको उपचार रोक्न मिल्दैन, औषधि दिनैपर्छ, परीक्षण गरिदिनैपर्छ,” अस्पतालका एक जिम्मेवार अधिकारी भन्छन्, “तर सेवा दिँदादिँदै अस्पताल आफैँ आर्थिक रूपमा थला पर्न थालेको छ ।”

अस्पतालका अनुसार अहिले आउने बिरामीमध्ये करिब ८० प्रतिशत स्वास्थ्य बिमा अन्तर्गतका छन् । बिरामीको उपचार भइरहे पनि त्यसको क्लेम रकम समयमै नआउँदा अस्पताल ऋण र उधारोमा चलिरहेको अवस्था रहेको बताइन्छ ।

पाँच महिनादेखि डाक्टरलाई इन्सेन्टिभ छैन

अस्पताल प्रशासनले डाक्टर तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारले दिने नियमित तलबबाहेक अस्पताल समितिबाट उपलब्ध गराइने प्रोत्साहन भत्ता (इन्सेन्टिभ) समेत पाँच महिनादेखि दिन नसकिएको स्वीकार गरेको छ । कतिपय चिकित्सकको त अझ पुरानो भुक्तानी पनि बाँकी रहेको बताइएको छ ।

औषधि आपूर्तिकर्ता, मेडिकल सामग्री विक्रेता तथा ल्याब रियाजेन्ट सप्लायरलाई समेत रकम तिर्न नसकिएको अस्पतालको भनाइ छ । “आज होइन भोलि आउँछ भन्दै काम चलाइएको छ,” अस्पताल स्रोतले जनाएको छ ।

एक्सरे र भिडियो एक्सरे सेवामा समस्या

स्थानीयवासीबाट सबैभन्दा धेरै गुनासो आएको विषयमध्ये भिडियो एक्सरे सेवा पनि एक हो । अस्पतालमा रेडियोलोजिस्ट डाक्टर नहुँदा सीमित जनशक्तिबाट सेवा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

हाल एकजना एमडीजीपी डाक्टरले भिडियो एक्सरेदेखि इमरजेन्सी सेवा समेत सम्हाल्नुपरेको अवस्था रहेको बताइएको छ । दैनिक बिरामी चाप अत्यधिक भएकाले अहिले दिनमा करिब ४० जनासम्मको कोटा राखेर भिडियो एक्सरे गर्नुपर्ने अवस्था आएको अस्पतालको भनाइ छ ।

अस्पतालले नयाँ रेडियोलोजिस्ट नियुक्तिका लागि बिज्ञापन खुलाएर प्रक्रिया अघि बढाएको र एकजना चिकित्सक छनोट भइसकेको जनाएको छ । “उहाँ केही दिनमै आउनुहुन्छ भन्ने अपेक्षा छ । त्यसपछि सेवा सहज हुन्छ,” अस्पताल प्रशासनको भनाइ छ ।
त्यसैगरी अर्को एक्सरे मेसिन ल्याउने तयारी पनि भइरहेको बताइएको छ । हाल प्रयोग भइरहेको पोर्टेबल एक्सरेबाट सेवा दिइए पनि सबै प्रकारका परीक्षण सम्भव नभएको अस्पतालले जनाएको छ ।

“डाक्टर ढिलो आउँछन” : सामाजिक सञ्जालमा बढ्दो गुनासो

सिन्धुली अस्पतालमाथि पछिल्ला दिनमा सामाजिक सञ्जालमा विभिन्न गुनासो पनि व्यापक रूपमा उठिरहेका छन् । बिरामीसँग राम्रो व्यवहार नभएको, डाक्टर समयमै नआउने, सेवा लिन घण्टौँ कुर्नुपर्ने जस्ता टिप्पणीहरू बढिरहेका छन् ।

अस्पताल प्रशासनले ती गुनासोबारे आफूहरू जानकार रहेको जनाएको छ । “रुखो व्यवहार भएको वा बिरामीलाई अप्ठ्यारो परेको अवस्था भए त्यसलाई हामी गम्भीर रूपमा लिन्छौँ,” अस्पतालका अधिकारी भन्छन्, “आवश्यक परे आन्तरिक कारबाही पनि गर्छौँ ।”

अस्पतालले गुनासो सुन्नका लागि सम्पर्क नम्बर सार्वजनिक गरिएको र आएका प्रतिक्रियाको समीक्षा भइरहेको जनाएको छ । यद्यपि प्रशासनले बिरामीको चाप अत्यधिक भएको र जनशक्ति सीमित भएकाले कहिलेकाहीँ सेवा ढिलो हुन सक्ने तर्क गरेको छ । “डाक्टरहरू राति अबेरसम्म बसेर बिरामी हेर्नुहुन्छ,” अस्पताल प्रशासनको दाबी छ ।

“सबैभन्दा ठूलो समस्या बिमाको पैसा”

अस्पताल प्रशासनका अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै स्वास्थ्य बिमाको रकम समयमै नआउनु हो। प्रदेश मन्त्रालय, स्वास्थ्य बिमा बोर्ड र राजनीतिक नेतृत्वसँग पटकपटक छलफल भए पनि समस्या समाधान हुन नसकेको अस्पतालको गुनासो छ ।

अस्पताल स्रोतका अनुसार बिमा बोर्डसँग सम्पर्क गर्दा “बजेटसम्म पर्खिनुहोस” भन्ने जवाफ आएको थियो। तर बजेटपछि पनि रकम आउने सुनिश्चितता नरहेको अस्पतालको भनाइ छ ।

स्थानीयवासी भने सरकारी अस्पतालमा आधारभूत स्वास्थ्य सेवा सहज, छिटो र प्रभावकारी हुनुपर्ने माग गरिरहेका छन् । स्वास्थ्य बिमा कार्यक्रमलाई नागरिकका लागि राहतको रूपमा ल्याइएको भए पनि रकम व्यवस्थापन कमजोर हुँदा जिल्लाका अस्पतालहरू नै संकटमा परेको उनीहरूको भनाइ छ ।

सिन्धुली अस्पताल प्रशासनले भने आर्थिक समस्या समाधान भए सेवा सुधार गर्न सकिने विश्वास व्यक्त गरेको छ । “यदि बिमाको रकम नियमित रूपमा आयो भने सिन्धुली अस्पताललाई धेरै राम्रो बनाउन सकिन्छ,” अस्पताल पक्षले जनाएको छ ।

 

प्रतिक्रिया