मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सांसद आशिष गजुरेलको नाम जोडेर भ्रम फैलाइएको आरोप

सोमवार , जेठ ४, २०८३

सिन्धुली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिष गजुरेलले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा केही व्यक्तिको नाम उल्लेख गर्दै आफू निकट वा प्रतिनिधि भएको भन्दै फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य गजुरेलले यसअघि नै २०८३ वैशाख ७ गते औपचारिक सूचना जारी गर्दै आफ्नो सचिवालयको तर्फबाट नारायण प्रसाद पोखरेल लाई आधिकारिक सम्पर्क तथा समन्वय व्यक्तिका रूपमा तोकिएको स्पष्ट पारिसकेका छन् ।

जारी सूचनामा जनताको गुनासो सङ्कलन, समाधान प्रक्रिया सहजीकरण, योजना तथा विकास निर्माणसम्बन्धी कामको समन्वय तथा सार्वजनिक सरोकारका विषय व्यवस्थित बनाउन प्रतिनिधि चयन गरिएको उल्लेख छ । साथै आवश्यक समन्वय, सुझाव तथा जानकारीका लागि तोकिएका व्यक्तिसँग मात्रै सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तर पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा केही व्यक्तिहरूले आफूलाई सांसद गजुरेलको प्रतिनिधि भन्दै प्रचारप्रसार गर्नुका साथै अन्य व्यक्तिको नाम जोडेर भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै सांसद गजुरेलले आपत्ति जनाएका छन् ।

उनले आधिकारिक रूपमा जारी गरिएको सूचना बाहेक अन्य कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधि भनेर नचिन्ने स्पष्ट पार्दै “कसैले पनि आफूलाई मेरो प्रतिनिधि हुँ भन्दै दाबी गरेमा त्यसलाई विश्वास नगर्नुहोला” भन्ने आग्रह गरेका छन् ।

गजुरेलले जनतासँग प्रत्यक्ष सम्पर्क, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन सचिवालयमार्फत व्यवस्थित ढङ्गले काम भइरहेको उल्लेख गर्दै अपुष्ट र भ्रामक प्रचारबाट सचेत रहन सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया