मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुलीमा अत्याधुनिक ‘बज्र मसल फ्याक्ट्री’ सञ्चालनमा

शुक्रवार , जेठ १, २०८३

सिन्धुली — कमलामाई नगरपालिका–६ धुराबजारमा अत्याधुनिक सुविधा सम्पन्न जिम सेन्टर ‘बज्र मसल फ्याक्ट्री’ सञ्चालनमा आएको छ । जिल्लाकै आधुनिक तथा सुविधासम्पन्न फिटनेस सेन्टरका रूपमा स्थापना गरिएको उक्त जिम वैशाख ३१ गते एक विशेष समारोहबीच उद्घाटन गरिएको हो ।


सिन्धुलीकै तीन युवा उद्यमी रोशन लामा, प्रकाश भण्डारी र अमर आले मगरको संयुक्त लगानीमा सञ्चालनमा आएको जिम सेन्टरमा करिब दुई करोड रुपैयाँ लगानी गरिएको सञ्चालकहरूले बताएका छन् । जिम सेन्टरको उद्घाटन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी गोपीलाल बम्जनले गरेका हुन् । बम्जन ८औँ साफ गेम्सका स्वर्ण पदक विजेता तथा ९औँ साफ गेम्सका कांस्य पदक विजेता हुन् । उनी सुप्रबल गोर्खा दक्षिणबाहु तथा बिख्यात त्रिशक्ति पट्ट विभूषणबाट समेत सम्मानित व्यक्तित्वका रूपमा परिचित छन् ।


सञ्चालकहरूका अनुसार ‘बज्र मसल फ्याक्ट्री’मा आधुनिक जिम उपकरणसहित फिटनेसप्रेमीका लागि आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ। जिमभित्र नै कफी सप तथा प्रोटिन सप्लिमेन्ट काउन्टर सञ्चालनमा ल्याइएको छ, जसले व्यायामसँगै स्वास्थ्यप्रति सचेत जीवनशैली प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।


उद्घाटन कार्यक्रममा स्थानीय युवा, खेलकुदकर्मी तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गोपीलाल बम्जनले पछिल्लो समय स्वास्थ्य र फिटनेसप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस्ता पूर्वाधारले जिल्लामै गुणस्तरीय सेवा पाउने वातावरण बनेको बताए ।

 
सञ्चालक रोशन लामाले सिन्धुलीमा पनि ठूला सहरसरहको फिटनेस सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक जिम सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार आगामी दिनमा फिटनेस तालिम, पर्सनल ट्रेनिङ तथा विभिन्न खेलसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको छ । स्थानीयवासीका अनुसार ‘बज्र मसल फ्याक्ट्री’ले सिन्धुलीमा फिटनेस तथा स्वास्थ्य क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया