मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुली प्रहरीलाई डीआईजी रेग्मीको  निर्देशन

सोमवार , बैशाख ७, २०८३

सिन्धुली,०७ बैशाख — बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्री दिपक रेग्मीले सिन्धुली जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् । निरीक्षण भ्रमणका क्रममा उहाँले कार्यालय परिसर, भवन संरचना, सुरक्षा पेरिमिटर, हिरासत कक्ष तथा अभिलेखीकरण प्रणालीको विस्तृत अवलोकन गरेका थिए ।

कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री लालध्वज सुवेदीले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रणका प्रयासहरू तथा चुनौतीहरूको विषयमा विस्तृत प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतिमा पछिल्लो समय गरिएका कार्यसम्पादन, सुरक्षा व्यवस्थापनका उपाय तथा समुदायसँगको सहकार्यबारे जानकारी दिइएको थियो ।

निरीक्षणपछि सम्वोधन गर्दै प्रहरी नायव महानिरीक्षक रेग्मीले कार्यालयबाट सम्पादित सकारात्मक तथा प्रभावकारी कार्यहरूको उच्च प्रशंसा गर्दै अझ सुधार गर्नुपर्ने पक्षहरूमा स्पष्ट निर्देशन दिए । उनले प्रहरी संगठनलाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गरे । साथै, राज्यले सुम्पिएका महत्वपूर्ण दायित्वहरूलाई पूर्ण इमान्दारिता र प्रतिबद्धताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरे ।

उनले प्रहरी संगठनलाई अनुशासित, चुस्त र दुरुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई अझ नागरिकमैत्री बनाउनु आवश्यक रहेको बताए । नागरिकसँगको व्यवहार, सेवा वितरणको गुणस्तर र संस्थागत छविमा सुधार ल्याउन सबै प्रहरी कर्मचारीले सकारात्मक सोच र व्यावसायिक आचरण अपनाउनुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा प्रहरी नायव महानिरीक्षक रेग्मीले सिन्धुली जिल्लामा बसोबास गर्दै आएका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया तथा छलफल समेत गरेका थिए । उक्त छलफलमा पूर्व प्रहरी कर्मचारीहरूको अनुभव, सुझाव तथा वर्तमान सुरक्षा व्यवस्थासम्बन्धी धारणा आदानप्रदान गरिएको थियो ।

यस निरीक्षण तथा निर्देशन कार्यक्रमले प्रहरी संगठनको कार्यक्षमता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया