शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमला माविमा पूर्वविद्यार्थी भेला : इतिहासको गर्व, भविष्यको प्रतिबद्धता

शनिवार , चैत्र २८, २०८२

सिन्धुली,२८ चैत — सिन्धुलीको ढुंग्रेवासस्थित कमला माध्यमिक विद्यालयमा आयोजित प्रथम बृहत् पूर्वविद्यार्थी भेला–२०८२ तथा अग्रज सम्मान कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । लामो इतिहास बोकेको यस शैक्षिक संस्थामा आयोजित उक्त भेलाले पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउँदै विद्यालयप्रतिको उत्तरदायित्वबोधलाई थप गहिरो बनाएको देखिएको छ ।

वि.सं. २००७ सालमा स्थापना भएको कमला माध्यमिक विद्यालयले आफ्नो शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएको छ । विशेषगरी २०२२ सालको एसएलसी परीक्षामा बोर्डफस्ट हासिल गरेको गौरवपूर्ण इतिहास यस विद्यालयको पहिचानका रूपमा स्थापित छ । कार्यक्रममा सहभागीहरूले विद्यालयको यही ऐतिहासिक योगदानको स्मरण गर्दै यसलाई यहाँसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जग्गादाता, पूर्व व्यवस्थापन समितिका पदाधिकारी तथा पूर्व प्रधानाध्यापकहरूप्रति कृतज्ञता र सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको उपस्थिति उल्लेखनीय रह्यो । उनले आफ्नो प्रारम्भिक शिक्षा यही विद्यालयमा प्राप्त गरेको स्मरण गर्दै विद्यालयसँगको आत्मीय सम्बन्धलाई भावनात्मक रूपमा व्यक्त गरे । सम्बोधनका क्रममा उनले विद्यालयलाई केवल औपचारिक शिक्षा दिने केन्द्रको रूपमा सीमित नगरी व्यक्तित्व निर्माणको आधार तयार पार्ने महत्वपूर्ण संस्थाका रूपमा व्याख्या गरे । उनका अनुसार विद्यालयबाट प्राप्त शिक्षाले विद्यार्थीहरूमा ज्ञानसँगै अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

“हामी आ–आफ्नो पेशा र क्षेत्रमा अघि बढिरहेका भए पनि हाम्रो पहिचान र जरा यही विद्यालयसँग जोडिएको छ,” गजुरेलले भने । उनले विद्यालयले दिएको संस्कार र मूल्यहरूले जीवनका विविध चरणहरूमा मार्गदर्शन गरेको उल्लेख गर्दै यस्ता पुनर्मिलन कार्यक्रमहरूको महत्व वर्तमान सन्दर्भमा अझ बढेको धारणा व्यक्त गरे ।

उनले यस्ता कार्यक्रमलाई केवल भेटघाटमा सीमित नराखी साझा पहिचान मजबुत बनाउने, अनुभव साटासाट गर्ने र भावी सम्भावनाहरूको खोजी गर्ने प्रभावकारी मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार पूर्वविद्यार्थीहरूको आपसी सहकार्य, समन्वय र सञ्जालले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । उनले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान विद्यार्थीहरूको क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक वातावरण निर्माण तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि सबै पूर्वविद्यार्थीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

गजुरेलले कार्यक्रमको सफल आयोजनाका लागि आयोजक समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरे । साथै, यस्ता सिर्जनात्मक प्रयासहरूले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने आवश्यकता औंल्याउँदै पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिताले विद्यालयलाई अझ उत्कृष्ट र उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयसँग आबद्ध विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरूको उपस्थिति विशेष आकर्षणका रूपमा देखियो । हाल एक जना संघीय सांसद, एक प्रदेशसभा सदस्य, कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेल र वडा अध्यक्ष महेन्द्र ढकाल तथासमेत यसै विद्यालयका पूर्वविद्यार्थी हुनुका साथै विद्यालय व्यवस्थापनसँग पनि प्रत्यक्ष रूपमा जोडिएका व्यक्तित्व रहेको जानकारी दिइयो । यसले विद्यालयले उत्पादन गरेका जनशक्तिको प्रभाव र योगदानलाई थप स्पष्ट पारेको छ ।

त्यसैगरी, यसै विद्यालयमा अध्ययन गरेका आठ जना पूर्वविद्यार्थी हाल यही विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहनु संस्थाप्रतिको निरन्तर सम्बन्ध र समर्पणको उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो । यसले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्ध केवल स्मृतिमा सीमित नभई व्यवहारमा पनि जीवित रहेको सन्देश दिएको छ ।

कार्यक्रमकै अवसरमा पूर्वविद्यार्थीहरूको औपचारिक संस्था दर्ता गर्ने महत्वपूर्ण निर्णय पनि गरिएको छ । अम्बरदीप देवकोटाको संयोजकत्वमा उपाध्यक्ष, सचिवसहित ११ सदस्यीय कार्यसमिति गठन गरिएको आयोजकहरूले जानकारी दिएका छन् । यस संस्थाले आगामी दिनमा विद्यालयको विकास, पूर्वविद्यार्थीबीच समन्वय तथा विभिन्न रचनात्मक गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

समग्रमा, उत्साहजनक सहभागिता, सकारात्मक वातावरण र नेतृत्वदायी उपस्थिति रहेको उक्त भेलाले कमला माध्यमिक विद्यालयको आगामी यात्रालाई थप सशक्त बनाउने संकेत गरेको छ । पूर्वविद्यार्थीहरूको निरन्तर साथ, सहकार्य र प्रतिबद्धता कायम रहिरहेमा विद्यालयको प्रगति अझ तीव्र, दिगो र उदाहरणीय बन्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया