सिन्धुली,२५ चैत — आजको आधुनिक शिक्षाको आधार मानिने एसएलसी (हालको एसईई) परीक्षाको इतिहास सिन्धुलीमा संघर्ष, समर्पण र गौरवका अनेक कथाले भरिएको छ । विसं २०१८ मा जम्मा ६ जना विद्यार्थीबाट सुरु भएको यो यात्रा अहिले हजारौँ विद्यार्थीको सहभागितासम्म पुगेको छ ।
सिन्धुली जिल्लाबाट पहिलोपटक विसं २०१८ मा कमला माध्यमिक विद्यालय, ढुंग्रेबासका ६ जना विद्यार्थीहरु मेघराज कोइराला, नारायणविक्रम थापा, सनतकुमार, कनक विक्रम थापा, बद्रीनाथ देवकोटा र दिनेशराज काफ्ले एसएलसी परीक्षामा सहभागी भएका थिए । उल्लेखनीय कुरा के भने, उनीहरू सबै उत्तीर्ण भएका थिए, जसले जिल्लामा शिक्षाप्रति नयाँ आशा जगाएको थियो ।
त्यतिबेला परीक्षा दिन काठमाडौँ जानुपर्ने बाध्यता थियो । विसं २०१८ देखि २०२४ सम्मका विद्यार्थीहरूले तीन–चार दिनसम्म पैदल हिँडेर राजधानी पुग्थे। कुम्लोमा खाजा, सामल र सातु बोकेर कठिन यात्रा गर्नु पर्ने थियो। शिक्षाप्रतिको त्यो समर्पण आजका पुस्ताका लागि प्रेरणादायी उदाहरण बनेको छ ।
विसं २०२२ मा कमला माविका छात्र महेन्द्रनाथ शर्माले एसएलसी बोर्डमा प्रथम स्थान हासिल गरेपछि सिन्धुलीमा अभूतपूर्व खुशी छाएको थियो । रेडियो नेपालबाट आएको उक्त समाचारले जिल्लालाई उत्साहले भरिदियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा स्वयं विद्यालय पुगेर शिक्षकहरूलाई सम्मान व्यक्त गर्नुले त्यो उपलब्धिको महत्व झल्काउँछ ।
विसं २०२५ बाट भने सिन्धुलीमै परीक्षा केन्द्र तोकिएपछि विद्यार्थीहरूलाई ठूलो राहत मिल्यो । रामेछापका विद्यार्थीहरू समेत सिन्धुलीमै परीक्षा दिन आउन थाले । त्यसबेला प्रगतिशील मावि रातमाटा र कुशेश्वर विद्यापीठ दुम्जाका विद्यार्थीहरूले पनि एसएलसीमा सहभागिता जनाउन थालेका थिए ।
विसं २०३४ सम्म रामेछापका विद्यार्थीहरू समेत सिन्धुलीमै परीक्षा दिन आउँथे । टेस्ट परीक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरू कोचिङका लागि पनि सिन्धुली झर्थे । विद्यार्थीहरूको चाप बढेपछि शिक्षकहरूलाई पढाउन भ्याइ नभ्याइ हुने र कोठा पाउनसमेत कठिनाइ हुने अवस्था थियो ।
विसं २०४५ सम्म आइपुग्दा जिल्लामा ११ वटा माध्यमिक विद्यालयले एसएलसीमा विद्यार्थी पठाउन थालेका थिए। कमला मावि भलुवाही दोस्रो परीक्षा केन्द्रका रूपमा विसं २०४१ देखि सञ्चालनमा आएको थियो । तर विसं २०४४ को गणित परीक्षा नियन्त्रण बाहिरको परिस्थितिका कारण एकै दिन दुई पटक सञ्चालन गर्नुपरेको थियो, जसका कारण ढुंग्रेबास केन्द्रको परीक्षा रद्द गरिएको थियो ।
विसं २०५७ देखि संस्थागत विद्यालयका विद्यार्थीहरूले पनि एसएलसीमा सहभागिता जनाउन थाले । सिन्धुली विद्याश्रमले अग्रसरता लिएपछि जनता, भगवती र सिद्धस्थली बोर्डिङ स्कुलहरूले पनि त्यसलाई पछ्याए ।
विसं २०५८ मा देशमा संकटकाल घोषणा भएपछि जिल्लाबाहिरका सबै परीक्षा केन्द्र सदरमुकाममा सारिएका थिए । कडा सुरक्षा व्यवस्थाबीच विद्यार्थीहरूले परीक्षा दिएका थिए, जसले त्यस समयको चुनौतीपूर्ण अवस्थालाई झल्काउँछ ।
आजको अवस्थामा आइपुग्दा विसं २०१८ का ६ जना विद्यार्थीबाट बढेर विसं २०८२ मा ५२०३ जना विद्यार्थी एसईईमा सहभागी हुने अवस्था बनेको छ । हाल जिल्लामा १५२ विद्यालय (१२८ सामुदायिक र २४ संस्थागत) रहेका छन् भने २७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
कोरोना महामारीका कारण विसं २०७७ मा भने परम्परागत परीक्षा प्रणाली स्थगित गरी विद्यालयलाई नै मूल्यांकनको जिम्मा दिइएको थियो। त्यस वर्ष उत्तीर्ण प्रतिशत र उच्च जीपीए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढेको थियो ।
इतिहासको पाना पल्टाउँदा सिन्धुलीका शिक्षाका प्रारम्भिक अग्रदूतहरू पनि स्मरणीय छन् । गोविन्दप्रसाद भट्टराई र मोहनविक्रम थापाजस्ता विद्वान व्यक्तित्वहरूले उच्च शिक्षा हासिल गरेर जिल्लाको शैक्षिक यात्रामा योगदान दिएका थिए । यद्यपि सिन्धुलीबाट पहिलो एसएलसी उत्तीर्ण गर्ने व्यक्ति को थिए भन्ने प्रश्न अझै शोधको विषय बनेको छ ।
६४ वर्षको यो यात्राले देखाएको छ,साधनस्रोतको अभावका बाबजुद पनि इच्छाशक्ति र लगनशीलताले शिक्षा क्षेत्रमा असम्भवलाई सम्भव बनाउन सकिन्छ ।