सिन्धुली,२२ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मरिण गाउँपालिका समितिले मरिण गाउँपालिकाका अध्यक्षद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई भ्रामक, आधारहीन तथा गैरजिम्मेवार भएको जनाएको छ । समितिले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिले जनमानसमा अनावश्यक भ्रम सिर्जना गर्ने खतरा रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार अध्यक्षले फेसबुकमार्फत रास्वपा नेतृत्वको सरकारलाई लक्षित गर्दै “दुई–चार जना पक्रेर केही दिनमै छाड्ने” तथा “सुकुम्बासी बस्तीमा डोजर चलाएर जनताको जीविकोपार्जन खोस्ने” जस्ता आरोप सार्वजनिक गरेका थिए । रास्वपाले यी आरोपलाई तथ्यहीन र अतिरञ्जित भन्दै अस्वीकार गरेको छ ।
रास्वप मरिण गाउँपालिका समितिका उपसभापति नोवीन बहादुर बि. क.द्वारा हस्ताक्षरित बिज्ञप्तीमा समितिले आफ्नो धारणा स्पष्ट पार्दै रास्वपा सधैं कानूनको शासन, पारदर्शिता, सुशासन तथा जनउत्तरदायित्वका मूल सिद्धान्तमा आधारित भएर अघि बढिरहेको जनाएको छ । कानून कार्यान्वयनका क्रममा गरिने कारबाहीहरू न्यायिक प्रक्रियाअनुसार हुने र कुनै पनि निर्णय व्यक्तिगत पूर्वाग्रह वा प्रतिशोधबाट निर्देशित नहुने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयलाई अत्यन्त संवेदनशील मुद्दाका रूपमा लिँदै सरकारले दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, योजना र वैकल्पिक व्यवस्थासहित काम गरिरहेको दाबी गरिएको छ । यस्ता विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गरी जनतालाई भ्रमित पार्नु गैरजिम्मेवार तथा निन्दनीय कार्य भएको रास्वपाको ठहर छ ।
रास्वपा मरिण गाउँपालिका समितिले सम्बन्धित पदाधिकारीलाई सार्वजनिक अभिव्यक्ति दिँदा जिम्मेवार बन्न, तथ्यमा आधारित धारणा राख्न तथा समाजमा अनावश्यक भ्रम र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ । राजनीतिक नेतृत्वबाट आउने अभिव्यक्ति जनतामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यसप्रति विशेष सचेतना आवश्यक रहेको पनि समितिले औंल्याएको छ ।
विज्ञप्तिको अन्त्यमा समितिले आफूहरू सधैं जनताको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सत्य, तथ्य र जिम्मेवार राजनीतिप्रति निरन्तर समर्पित रहने प्रतिवद्धता व्यक्त गरेको छ। उक्त विज्ञप्तिमा रास्वपा मरिण गाउँपालिका समितिका उपसभापति नोवीन बहादुर बि. क.को हस्ताक्षर रहेको छ।