मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुली अस्पतालमा शल्यक्रिया सेवा पुनः सुचारू, बिरामीलाई राहत

मंगलवार , चैत्र १७, २०८२

सिन्धुली,१७ चैत — केही समयदेखि अवरुद्ध रहेको सिन्धुली अस्पतालको शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । एनेस्थेसिया चिकित्सकको अभावका कारण प्रभावित बनेको उक्त सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएपछि बिरामीहरूलाई ठूलो राहत मिलेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार भरतपुर अस्पतालमा कार्यरत एनेस्थेसिया विशेषज्ञ डा. कुशल रञ्जित  सिन्धुली अस्पतालमा काज सरुवाभई आएसंगै शल्यक्रिया सेवा पुनः सुचारू गरिएको हो । चिकित्सकको सरुवाका कारण विगत केही दिनदेखि आकस्मिक तथा नियमित शल्यक्रिया सेवा पूर्ण रूपमा प्रभावित भएको थियो । यस अवधिमा उपचारका लागि आएका धेरै बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता सिर्जना भएको थियो ।

विशेषगरी आकस्मिक अवस्थामा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूले समयमै सेवा नपाउँदा थप समस्या भोग्नुपरेको स्थानीयले बताएका छन् । स्वास्थ्य सेवा अवरुद्ध हुँदा जिल्लावासीमा चिन्ता र असन्तोष समेत बढेको थियो ।

हाल एनेस्थेसिया चिकित्सकको व्यवस्थापन भएसँगै अस्पतालले पुनः नियमित रूपमा शल्यक्रिया सेवा प्रदान गर्न थालेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार अब आपतकालीन तथा सामान्य दुवै प्रकारका शल्यक्रियाहरू व्यवस्थित रूपमा सञ्चालन गरिनेछन् । यसले जिल्लाका बिरामीहरूलाई बाहिर जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनले सेवा अवरुद्ध हुँदा बिरामीहरूले भोग्नुपरेको असुविधाप्रति क्षमा मागेको छ  । साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिइने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा जनशक्ति अभावले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने भएकाले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने स्थानीय सरोकारवालाहरूको धारणा छ । उनीहरूले जिल्लामा विशेषज्ञ चिकित्सकको स्थायी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएसँगै सिन्धुली अस्पतालले पुनः आफ्नो नियमित सेवाको गति समातेको छ। यसबाट जिल्लावासीले सहज र समयमै उपचार सेवा पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया