सिन्धुली,१५ चैत — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमाले सिन्धुलीले आइतबार सदरमुकाम सिन्धुलीमाडीमा प्रदर्शन गरेको छ । पार्टीका नेता–कार्यकर्ताहरूले नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् ।
जुलुसमा सहभागीहरूले “कानूनी राज्यको पालना गर”, “केपी ओली र रमेश लेखकको रिहाइ गर” लगायतका नारा लगाउँदै सिन्धुली बजार परिक्रमा गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई विरोधपत्र हस्तान्तरण गरेका थिए ।
प्रदर्शनमा जिल्लाभरका एमाले नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा सिन्धुलीका इन्र्चाज प्रदीप कटुवालले अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । उनले वर्तमान कदमलाई लोकतान्त्रिक मूल्य र विधिको विपरीत भएको आरोप लगाउँदै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको विरोधपत्रमा पार्टीले अध्यक्ष ओली तथा नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै कडा शब्दमा निन्दा गरेको छ । यस्तो गिरफ्तारीले लोकतान्त्रिक मूल्य, कानुनी शासन र मानवअधिकारको मर्ममाथि आघात पु¥याएको उल्लेख गर्दै उनीहरूको तत्काल रिहाइको माग गरिएको छ ।
एमालेले २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति जनाउँदै आएको जनाएको छ । विरोधपत्रमा उक्त आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको प्रतिवेदन निष्पक्ष नभएको दाबी गरिएको छ । प्रतिवेदनका निष्कर्षहरू पूर्वाग्रही र अनुसन्धानका आधारभूत न्यायिक सिद्धान्तविपरीत रहेको आरोप एमालेले लगाएको छ ।
पार्टीले घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । कार्की आयोगको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र तत्कालीन नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले तयार गरिएको दाबी गर्दै एमालेले यसलाई अस्वीकार्य ठहर गरेको छ ।
विरोधपत्रमा हालै गठन भएको सरकारले उक्त प्रतिवेदन कार्यान्वयनको नाममा लोकतान्त्रिक शक्तिहरूमाथि आक्रमण सुरु गरेको आरोप पनि लगाइएको छ । एमाले अध्यक्ष लगायतका नेताहरूको गिरफ्तारीलाई पार्टीले “कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमाथिको नांगो प्रहार” का रूपमा व्याख्या गरेको छ ।
एमाले सिन्धुलीले अध्यक्ष ओली र नेता लेखकको रिहाइका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायलाई एकजुट हुन आह्वान गरेको छ । साथै, संविधान, लोकतन्त्र र मानवअधिकारको संरक्षणका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
गिरफ्तारी घटनाले लोकतान्त्रिक शक्तिहरू र सर्वसाधारण नागरिकहरूलाई चिन्तित बनाएको उल्लेख गर्दै पार्टीले यसप्रति विचलित नभई दृढताका साथ संघर्षमा उत्रन आग्रह गरेको छ । विरोधपत्रमा सरकारलाई लोकतान्त्रिक विधि र संवैधानिक मूल्यभन्दा बाहिर गएर अघि बढ्न खोजे त्यसको “महँगो मूल्य चुकाउनुपर्ने” चेतावनीसमेत दिइएको छ ।
एमालेको यस कदमलाई स्थानीय तहमा राजनीतिक चासोका रूपमा हेरिएको छ भने आगामी दिनमा यसले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।