सिन्धुली,१९ माघ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुली च्याप्टरको आयोजनामा दुधौली नगरपालिकाको रंगशालामा सम्पन्न स्पोर्ट मिट पुरस्कार वितरणसँगै औपचारिक रूपमा समापन भएको छ । एनप्याब्सन सिन्धुलीको नियमित वार्षिक कार्यक्रमअन्तर्गत माघ १५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।
समापन समारोहमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार उप्रेती प्रमुख अतिथिमा भएको समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक तथा पुरस्कार प्रदान गरिएको थियो । मन्तव्यका क्रममा उप्रेतीले विद्यार्थीहरू शारीरिक, मानसिक र बौद्धिक तीनै पक्षमा सन्तुलित र सक्षम हुनुपर्नेमा जोड दिए । खेलकुदले अनुशासन, स्वस्थ प्रतिस्पर्धा र मिहिनेतको संस्कार विकास गराउँदै समग्र व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
भलिबल, म्याराथन, सटपुट, रिले दौडलगायत विविध खेल विधामा प्रतिस्पर्धा गराइएको स्पोर्ट मिटमा एनप्याब्सनमा आबद्ध २४ निजी विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो । यसअघि लगातार तीन संस्करण सदरमुकाम सिन्धुलीमाडीमा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक दुधौली नगरपालिकामा चौथो संस्करणका रूपमा सम्पन्न भएको हो । फरक भौगोलिक क्षेत्र छनोट गर्दा सहभागिता र आकर्षण थपिने विश्वास आयोजकको रहेको छ ।
स्कलर्स एकेडेमीका प्रिन्सिपल रविन पौडेलका अनुसार यसपटकको संस्करणमा विद्यालयहरूबीचको सहभागिता र प्रतिस्पर्धा दुवै उच्च देखिएको थियो । “स्थल परिवर्तनले खेलाडी विद्यार्थीलाई नयाँ मैदानमा खेल्ने अवसर मिल्यो, जसले उनीहरूको आत्मविश्वास र सीप दुवै बढायो,” उनले भने ।
हिमालयन इङ्गलिस स्कुलका प्रिन्सिपल मणि काफ्लेले जिल्लाका फरक–फरक क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्दा विद्यार्थीहरूले आफ्नो जिल्लाको भौगोलिक, आर्थिक तथा सामाजिक विविधता बुझ्ने अवसर पाउने बताए । फरक वातावरण र खेल मैदानले खेलप्रतिको अभिरुचि बढाउनुका साथै सचेतना अभिवृद्धिमा पनि सहयोग पुग्ने उनको धारणा छ ।
तीन दिनसम्म चलेको स्पोर्ट मिटको समापन कार्यक्रम एनप्याब्सन सिन्धुलीका जिल्ला अध्यक्ष सोनाम बज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै समारोहलाई थप आकर्षक बनाएका थिए । कार्यक्रम सञ्चालन एनप्याब्सन सिन्धुलीका सचिव निराजन श्रेष्ठले गरेका थिए ।