मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुलीमा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

शनिवार , कार्तिक १, २०८२

सिन्धुली,०१ कात्तिक – सिन्धुलीमा लेखा समूह सिन्धुलीद्वारा आयोजित निजामती कर्मचारी खुला ब्याडमिन्टन प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ। जिल्लाको कबडहलस्थित खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाभरका विभिन्न निकायका कर्मचारी तथा खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मेन्स डबल्स खुला श्रेणीमा सुरेश श्रेष्ठ र ओमराज वलको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन् । उनीहरूले पदम मगर र जयप्रकाश चालिसेको जोडीलाई २१–१९ र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थानमा आफ्नो नाम लेखाए । सोही समूहमा सुदीप कोइराला–मनमोहन सिंह र भूषण राना–लक्ष्मेश्वर रायको जोडीले तृतीय स्थान हासिल गरे ।

त्यस्तै, जिल्ला स्तरीय मेन्स डबल्समा लोकबहादुर राना र दुर्गा पुलामीको जोडीले शुशिल वर्मा र वैकुण्ठ कार्कीलाई २१–१२ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । यस समूहमा सविन न्यौपाने–शेषराज गोले र सरोज गौतम–राजकुमार खुलालको जोडीले तृतीय स्थान प्राप्त गरे ।

महिला तर्फको लिग चरणमा गंगा मगर र गीता श्रेष्ठको जोडी प्रथम भएकी छन् भने डा. यशोदा खड्का र डा. अस्मिता केसी द्वितीय स्थानमा रहे । अम्बिका काफ्ले–कल्पना भण्डारी र स्वस्तिका विष्ट–सावित्रा पोखरेलले तृतीय स्थान साझा गरेका छन् ।

लेखा समूह सिन्धुलीका अध्यक्ष पदम मगरका अनुसार प्रतियोगिताको उद्देश्य जिल्लाका निजामती कर्मचारीबीच आपसी सद्भाव, स्वास्थ्य र खेलप्रतिको आकर्षण बढाउनु हो । उनका अनुसार खुला मेन्स डबल्सका विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । जिल्ला स्तरीय मेन्स डबल्सका विजेतालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँका पुरस्कार प्रदान गरियो ।

त्यस्तै, महिला तर्फका विजेताले लिग चरण अनुसार क्रमशः ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँका नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिता सम्पन्न भएपछि आयोजित समापन समारोहमा आयोजक समितिका पदाधिकारी, खेलाडी, स्थानीय समाजसेवी र पत्रकारहरूको उपस्थिति रहेको थियो । विजेतालाई सम्मान गर्दै आयोजकहरूले खेललाई जिल्लाको स्वास्थ्य र एकताको प्रतीकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया