शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जिल्ला अदालत सिन्धुलीबाट ८७४ वटा मुद्दा फर्स्यौट

बुधवार , श्रावण २१, २०८२

सिन्धुली — जिल्ला अदालत सिन्धुलीले आर्थिक वर्ष ०८१/०८२ मा ८७४ वटा मुद्दा फर्स्यौटगरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका समेत गरी कुल १ हजार ५३३ मुद्दा दर्ता भएकोमा सो मुद्दामध्ये ८७४ वटा टुंगोमा पुगेका हुन् । बाँकी रहेका ६५९ वटा मुद्दा भने चालु आर्थिक वर्ष ०८२/०८३ का लागि जिम्मेवारी सरेका छन् ।

अदालतका सूचना अधिकारी डेढकुमार ढकालका अनुसार, अघिल्लो आव ०८०/०८१ मा पनि अदालतमा १ हजार ७२७ मुद्दा थिए । तीमध्ये १ हजार ६८ मुद्दा फर्स्यौट भएका थिए भने बाँकी ६५९ मुद्दा ०८१/०८२ मा सारिएका थिए ।

०८१/०८२ मा टुंगोमा पुगेका मुद्दामध्ये देवानीतर्फ ५३२, फौजदारीतर्फ ३३५ र रिट निवेदनतर्फ ७ वटा रहेका छन् । चालु आवका लागि सरेका ६५९ मुद्दामध्ये ३३१ वटा देवानी, ३२२ फौजदारी र ६ वटा रिट निवेदनतर्फका रहेका छन् ।

अदालतले दिएको जानकारीअनुसार, गत आर्थिक वर्षमा दर्ता भएका नयाँ मुद्दा मध्ये देवानी ८६३, फौजदारी ६५७ र उच्च अदालतसमक्षका लागि रिट निवेदन १३ वटा रहेका छन् ।

फर्स्यौट भएका मुद्दामध्ये प्रमुखरूपमा सम्बन्ध विच्छेदका ३३२, जबर्जस्ती करणीका ४८, लागुऔषध सम्बन्धी ३७, सबारी ज्यानका २६, अंशबन्डाका ४३६ र चोरी सम्बन्धी ४० वटा मुद्दा रहेका छन् ।

दुई वर्षभन्दा पुराना २४४ मुद्दामध्ये २१९ मुद्दा फर्स्यौट भएको र अब २५ मुद्दा बाँकी रहेको पनि अदालतले जनाएको छ । सूचना अधिकारी ढकालले भन्नुभयो, “दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य पार्ने लक्ष्य थियो तर पक्राउ पुर्जी तामेलीमा समस्या आएपछि केही मुद्दा बाँकी रहेको हो । ती मुद्दाका अधिकांस प्रतिवादी बाहिरी जिल्लामा रहेका छन् भने प्रहरीले समय दिन नसक्दा समस्या भएको हो ।”

सम्बन्धित विषय:

प्रतिक्रिया