शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नयाँ प्रशासकीय अधिकृत नआएपछि फेरि पुरानै अधिकृतले सम्हाले गाउँपालिका

सोमवार , श्रावण १९, २०८२

सिन्धुली, १९ साउन-  सिन्धुली जिल्लाका दुई स्थानीय तह—गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  नयाँ सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृतको पालिकामा हाजिरै नभई अन्यत्र सरुवा भएपछि पुरानै वरिष्ठ कर्मचारीहरूले पुनःनिमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

गोलन्जोर गाउँपालिकामा कृषि अधिकृत चन्द्रकान्त चौधरी र हरिहरपुरगढी गाउँपालिकामा जनस्वास्थ्य अधिकृत दीपेन्द्र पैकरा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारीमा फर्किनु भएका हुन् । उहाँहरू यसअघि पनि यही भूमिकामा कार्यरत हुनुहुन्थ्यो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गोलन्जोरका प्रमुख प्रशासकीय अधिकृतमा खटाईको साजन अधिकारीलाई दोलखा जिल्ला समन्वय समितिमा र हरिहरपुरगढीकी दीपशिखा आलेलाई रसुवा जिल्ला समन्वय समितिमा सरुवा गरेपछि नयाँ प्रशासकीय अधिकृत नै नआएको हो । नयाँ प्रशासकीय अधिकृतहरू पालिकामा हाजिर नभई अन्यत्रै सरुवा भएपछि उक्त पद खाली रहँदै आएको छ ।

गत साउन ७ गते मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरू समयमै कार्यस्थलमा हाजिर नभएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्पष्ट निर्देशन जारी गरेको थियो । यद्यपि, वरिष्ठतम कर्मचारीहरूलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयले पहिले नै खारेज गरिसकेको भए पनि परिस्थिति विशेषमा पुनः अधिकार दिइएको छ ।

यसअनुसार, चन्द्रकान्त चौधरी र दीपेन्द्र पैकरालाई पालिकाको दैनिक आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतिक्रिया