सिन्धुली,२५ जेठ – सिन्धुली अस्पताल सिन्धुलीमा विरामीको भिड लागेको छ । आइतबार अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने विरामीको लाइननै थियो । सिन्धुली अस्पतालको सेवाप्रति जनविश्वास बढेसँगै यहाँ उपचारका लागि आउने बिरामीको संख्या दिनानुदिन उकालो लागिरहेको छ । अस्पताल मेडिकल सुपरिटेन्डेन डा. अभिषेक थपलियाले भन्नुभयो, “विशेषगरी आइतबार त ५ सयभन्दा बढी विरामी आउँछन । अन्य दिनहरूमा पनि ३ सयदेखि ४ सय सेवाग्राही नियमित रूपमा सेवा लिन आउँछन् ।”
विगतका वर्षहरूमा निजी क्लिनिक वा प्राईभेट अस्पताल धाउने धेरैजसो बिरामी अहिले सिन्धुली अस्पतालमै पुग्न थालेका छन् । यसले सिन्धुली अस्पतालको सेवा प्रणालीप्रति जनविश्वास पुनःस्थापित हुँदै गएको संकेत गर्छ । “पहिलाको तुलनामा अहिले सेवा निकै सहज र छिटो भएको छ,” कमलामाई नगरपालिका–५ का दिलिप नारायण भुजेलले भन्नुभयो, “हामीलाई निःशुल्क वा न्यून शुल्कमा गुणस्तरीय सेवा मिलिरहेको छ ।” पछिल्लो समय अस्पतालमा सेवा सुधार हुँदै गएको सेवाग्राहीहरू बताउँछन् । “पहिला लाइन लागेर घण्टौं पर्खिनुपथ्र्यो, अहिले नम्बर अनुसार सेवा मिल्छ,” एक बिरमीले भने । तर, बिरामीको चाप अनुसार पुर्वाधार र जनशक्तिको अभाव भने अस्पतालले अझै महसुस गरिरहेको छ ।
यद्यपि विरामीको चाप बढेसँगै अस्पताल व्यवस्थापनमा भने थप चुनौती सिर्जना भइरहेको छ । चिकित्सक, नर्स र प्राविधिकहरूको संख्या सीमित हुँदा सेवाग्राहीलाई लामो समय पर्खनुपर्ने बाध्यता छ । डा. थपलिया भन्नुहुन्छ, “हामी सेवा दिन कत्तिपनि पछि हट्दैनौ । तर, जनशक्ति र पूर्वाधार सीमित हुँदा कहिलेकाहीँ व्यवस्थापनमा समस्या आउँछ ।”
हाल अस्पतालमा उपलब्ध ओपीडी सेवा, ल्याब परीक्षण, सामान्य शल्यक्रिया, प्रसूति सेवा र आकस्मिक उपचार सुविधा प्रमुख सेवाका रूपमा छन् । तर, बढ्दो चापले गर्दा अझ सशक्त पूर्वाधारको आवश्यकता महसुस भइरहेको अस्पताल प्रशासन बताउँछ ।
सिन्धुलीको भौगोलिक बनोटले टाढा–टाढाका बासिन्दाहरू पनि सेवा लिन यहीँ झर्ने गरेका छन् । गाउँबाट घण्टौं हिँडेर आएका विरामीलाई पनि सहज सेवा दिन सकिने गरी अस्पतालको विस्तार गरिनु जरुरी भएको सेवाग्राहीहरूको भनाइ छ ।
जिल्ला अस्पतालको सेवा सुधारका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वय अत्यावश्यक देखिन्छ । जनशक्ति, औषधि, उपकरण र भवन विस्तारका लागि लगानी नगरी बढ्दो चाप व्यवस्थापन गर्न सम्भव देखिंदैन ।