मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

कमलामाई नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा

शनिवार , जेठ २५, २०८२

सिन्धुली,२४ जेठ – कमलामाई नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै कमलामाई नगरपालिकालाई शनिवार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुरक्षितता तथा दिगोपना हाम्रो प्रबिद्वता’ भन्ने मूल नारासहित एक समारोहबिच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको रुपमा घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरपालिका भित्रका तोकिएका उमेर समूहका बालबालिकाहरूले सबै खोपको मात्रा पूरा गरेका थिए । बालबालिकाको रोस्टर तयार गरेर खोप कार्डको आधारमा सबै नछुटेको प्रमाणित गरेर वडा, पालिका हुँदै जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने गरिन्छ ।

१४ वटा वडा रहेको नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना नगरपालिकाको रूपमा घोषणा गरिएको कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापाले बताउनुभयो । बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा कमलामाई नगरपलिकाका मेयर उपेन्द्र कुमार पोखरेलले नगरलाई पूर्ण खोप सुनिश्चित गराउन अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित संस्थाहरूप्रति आभार प्रकट गर्दै भन्नुभयो, “हामीले पूर्ण खोपको लक्ष्य हासिल गर्न सफल भएका छौं, अब यसलाई अझ दिगो बनाउँदै स्वास्थ्यका अन्य कार्यक्रमहरूलाई समेत प्रभावकारी बनाउँदै लैजानेछौं ।”

उहाँले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने कुरामा जोड दिनुभयो । त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न मेयर पोखरेलले निर्देशन समेत दिनु भएको छ । कमलामाई नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारितालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने मेयर पोखरेलले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले नगरपालिकाको यो उपलब्धिलाई अत्यन्त प्रशंसनीय भनी उल्लेख गर्दै भन्नुभयो, “कमलामाई नगरपालिकाले देखाएको प्रतिबद्धता र कार्यान्वयन क्षमता अरू स्थानीय तहहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ ।”

उहाँले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाकालागि स्वास्थ्यकर्मीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले संक्रामक रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अनिवार्य रहेको बताउनुभयो ।

पूर्णखोप सुनिश्चितता निरन्तरता कायम राख्नका लागि मेयर पोखरेल सहित कार्यक्रममा उपस्थित सबैले प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । खोप कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।

नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार सञ्चालन ऐन, ०७४ ले नै प्रत्येक बालबालिकालाई पूर्णखोप पाउनैपर्ने कानुनी व्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा गाउँपालिका, नगरपालिकाको काम, कर्तव्य र अधिकार तथा वडा समितिको काम, कर्तव्य र अधिकारभित्र आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप सेवा सञ्चालनको व्यवस्था गरेको छ ।

प्रतिक्रिया