सिन्धुली – विद्यार्थीको चुनावमा स्वतन्त्र भन्दै राजनैतिक दलकै गुटबाट सिन्धुलीमा उमेदवार खडा गरिएको छ । सिन्धुली बहुमुखि क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका स्वतन्त्र उम्मेदवार विनोद कुमार कार्कीलाई माओवादीकै एउटा खेमाले समर्थन गरिरहेको श्रोतले बताएको छ । जिल्लाको माओवादी केन्द्रको संस्थापन पक्षको निर्णयलाई असफल बनाउन माओवादीका नेता तथा संघिय सासंद लेखनाथ दाहाल उर्फ राजनकै समर्थनमा कार्कीले बागीमा उम्मेदवारी दिनुभएको हो ।
स्वतन्त्रको नाममा विद्यार्थीलाई झुक्काएर सहानुभुतिको मत प्राप्त गर्ने योजना सहित कार्कीलाई स्ववियुको सभापतिमा उम्मेद्वारी दिन राजनले उक्साएको माओवादी केन्द्रकै एक जिल्ला नेताले सिन्धुली सौगातलाई बताए । ती नेताले भने, ‘जिल्लामा आफ्नो शक्ति प्रदर्शन गर्न कमरेड राजनले जस्तोसुकै हर्कत गर्न सक्छन् भन्ने यो ज्वलन्त उदाहरण हो ।’ राजनैतिक दलसँग आबद्ध नरहेका विद्यार्थीलाई चुनावमा जिताउनुपर्छ भन्ने लहर चलिरहेको बेला राजनले आफ्नै नेतृत्वमा स्वतन्त्र उम्मेद्वार खडा गरेको ती नेताले बताए । विद्यार्थीलाई झुक्काएर नक्कली स्वतन्त्र उम्मेद्वार भन्दै नेताकै संरक्षणमा चुनावमा सभापतिको उम्मेद्वार बनेका कार्कीलाई स्वतन्त्र उम्मेद्वार भन्न नसकिने एक विद्यार्थीले बताए । उनले भने, ‘विद्यार्थीहरु त्यतिसम्म अबुज पनि छैनन् । उनीहरु सचेत छन् र स्ववियूका सभापति कार्की स्वतन्त्र होइनन् भन्ने विद्यार्थीहरुले बुझेका छन् ।’
माओवादी केन्द्रका अर्को जिल्ला नेताका अनुसार सांसद राजनले पार्टीलाई कमजरो बनाइरहेका छन् । ती नेताले भने, ‘तलदेखिनै गुट, उपगुट बनाउन माहिर राजन कमरेडले घिनलाग्दो कदम चाले । विद्यार्थीको चुनावमा हस्तक्षेप गरेर राजनले पार्टीलाई नै बदनाम गराउन खोजे ।’ उनले सम्पूर्ण विद्यार्थीलाई पार्टीको निर्णय अनुसारनै मतदान गर्न आग्रह गरे । साथै, उनले पार्टी भित्र जिल्लाकै शिर्ष नेताले बाटो बिराएपनि विद्यार्थीले सबक सिकाउदै पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीको निर्णयलाई विद्यार्थीले समर्थन गर्दै अनेरास्वियु र अखिल क्रान्तिकारीको उम्मेद्वारलाई सहयोग गर्नुपर्छ ।’
स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका कार्कीलाई माओवादीकै शिर्ष नेताहरूको भरपर्दो सहयोग रहेको एक विद्यार्थीले सिन्धुली सौगातलाई बताए । स्वावियुको निर्वाचन अगाडि अखिल क्रान्तिकारीमा सक्रिय रुपमा लाग्नुभएका कार्कीले टिकेट नपाएपछि बागी उम्मेदवारी दिनुभएको हो । आफूलाई स्वतन्त्र दाबी गर्दै प्रचार गरिरहनु भएका कार्किलाई आर्थिक, रणनीतिक र मत परिचालनमा सासंद दाहालकै प्रत्यक्ष समर्थन रहेको देखिन्छ । एक विद्यार्थीले भने, “स्वतन्त्र नाम दिएर चुनाव लड्ने, तर पछाडिबाट नेताहरूको आशीर्वाद लिने भनेको त विद्यार्थीहरूलाई झुक्याउने खेल मात्र हो । विद्यार्थीले बुझ्न जरुरी छ, वास्तविक स्वतन्त्र र नाम मै स्वतन्त्रको उम्मेदवार छुट्याउनु पर्छ ।” कार्की केवल छद्म स्वतन्त्रता भएको उनले आरोप लगाए । यस पटकको स्ववियु चुनावले विद्यार्थी राजनीतिमा स्वतन्त्र उम्मेदवारको भूमिकालाई नयाँ तरिकाले परिभाषित गरिरहेको छ । स्वतन्त्र उम्मेदवारीको ब्यानर बोकेर दलका ठूला नेताहरूको सहयोगमा अघि बढ्ने यो प्रवृत्तिले आगामी दिनमा विद्यार्थी राजनीति कता मोडिन्छ भन्ने चासो बढाएको छ ।