शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली गोली प्रकरणः २४ घण्टामै एकजना पक्राउ

मंगलवार , कार्तिक २७, २०८१

सिन्धुली– आइतबार दिउँसो ४ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भयो । मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका ४३ वर्षिय प्रेम बहादुर बम्जनमाथि अज्ञात समुहले गोली प्रहार गरि फरार भएपछि सिन्धुलीबाट बाहिरिने सबै नाकामा सिन्धुली प्रहरीले कडाईका साथ चेकजाँच शुरु गर्यो । नाकामा कडाइका साथै अन्य कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको थियो । अन्ततः २४ घण्टा नबित्दै एकजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार सोमबार दिउँसो बागमती नगरपालिका ७ स्थित तुफानपुर बस्ने ३० वर्षिय प्रमानन्द ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बागमती नगरपालिका १२ स्थित बथाने टोलबाट पक्राउ गरिएको एसपी काफ्लेले सिन्धुली सौगातलाई बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय सर्लाही, मकवानपुर र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त टोलीले प्रारम्भिक अनुसन्धानबाट उक्त घटनामा संलग्न तीन जना मध्य एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको एसपी काफलेले बताउनुभयो ।

के हो घट्ना ?: आइतबार दिउँसो अन्दाजि साढे दुई बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका ३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जन र उनका ३१ वर्षिय भाई दिल वहादुर बोम्जन सर्लाही हुदैँ सिन्धुलीबाट मकवानपुरतर्फ जादैँ थिए । ना ४० प ६६४६ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकलमा सवार बम्जन दाजुभाईलाई तराई मुलका जस्तो देखिने तीनजना अपरिचित मानिसहरुले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.०६ झप्सी स्थित बाबजी खोल्सीमा बाटो छेके । मोटरसाइकल रोकिन नपाउँदै तीनजना मध्यबाट गोली प्रहार भयो । गोली प्रहारबाट बोम्जनको दाहिने गालामा चोट लागेको एसपी काफ्लेले बताउनुभयो । उता, मोटरसाइकलमा सवार बोम्जनका भाई भने सकुशलनै रहेको एसपी काफ्लेले जानकारी दिनुभयो । गोली लागि घाईते भएका बोम्जनलाई स्थानिय र प्रहरी समेत भई तत्काल उपचारको लागी मोडेल अस्पताल सर्लाहीमा उपचार गराई थप उपचारको लागी वयोधा अस्पताल विरगंज हुदैँ काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । एसपी काफ्लेले भन्नुभयो, ‘बोम्जनमाथि किन गोली प्रहार भयो भन्ने अनुसन्धान भइरहेको छ ।’ अन्य दुईजनालाई प्रहरीले खोजि गरिरहेको एसपी काफुलेले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया