सिन्धुली – नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रमुख राजनीतिक दलको सत्तासमीकरण सरकार बदल्नका मात्र नभई मुलुकलाई निकास दिनका लागि भएको जिकिर गर्नु भएको छ ।
प्रेस चौतारी नेपाल सिन्धुलीले बुधवार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेस र नेकपा (एमाले) बीच देशमा रहेका मूलभूत समस्या समाधान, राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धिका लागि सत्ता सहकार्य भएको बताउनुभयो ।
“मुलुकमा देखिएको अन्योल र अस्थिरता अन्त्य गर्न हामी एक ठाउँ भएका हौँ”, भट्टराईले भन्नुभयो, “यो गठबन्धन सरकार परिवर्तनका लागि मात्रै भएको होइन । यस गठबन्धनको मुख्य प्राथमिकता राजनीतिक स्थिरताबाट समृद्धि प्राप्त गर्नु हो ।”
“मुलुक भएमा हरेक परिवर्तनहरुमा एमाले र काँग्रेस एक ठाउँमा उभिएको इतिहास छ । बहुदलीय व्यवस्था ल्याउनदेखि वर्तमान संविधान निर्माणसम्म एमाले–काँग्रेस मिलेर काम गरेको थियो । मुलुकमा हरेकपटक संकटको अवस्था आउँदा दुई पार्टी मिलेर निकास दिँदै आएको छ”, भट्टराईले भन्नुभयो, “चरम राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले फेरि एमाले र काँग्रेसबीच सहकार्य भएको हो ।”
उहाँले व्यवस्था विरोधी शक्तिहरुका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठ्न थालेकोले व्यवस्था जोगाउन दुई पार्टी एक ठाउँमा उभिएको बताउनुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउने शक्ति एमाले र काँग्रेसमात्रै भएको उहाँको दाबी छ ।
“हरेक निर्वाचनको मूल्यांकन गर्दा एमाले र काँग्रेसले लगभग उस्तै मत पाइरहेको छ । तेस्रो शक्ति हावी हुँदा केही कम देखिए पनि धेरै घटेको होइन । पहिलो संविधानसभामा माओवादी हावी हुने बेलामा पनि एमाले–काँग्रेसको मत २०–२२ प्रतिशतको हाराहारीमा थियो । अब आगामी निर्वाचनमा पनि एमाले र काँग्रेस नै मुख्य प्रतिस्पर्धी हो,” नेता भट्टराईले भन्नुभयो ।
एमाले र काँग्रेसबीच चुनावी गठबन्धन भने नहुने उहाँले बताउनुभयो । सामान्य अवस्थामा पहिलो र दोस्रो पार्टी कहिल्यै सरकारमा नहुने र रहन नहुने उहाँको भनाइ थियो । तर, संक्रमणको बेला दुई ठूला पार्टी एक ठाउँमा आएर निकास दिनुपर्ने जिम्मेवारीका कारण वर्तमान सरकार बनेको दाबी गर्नुभयो ।
वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्म निरन्तरता हुने नेता भट्टराईले बताउनुभयो । मुलुकको अर्थतन्त्र सुधार गर्न सरकारले प्रभावकारी रुपमा काम गर्ने उहाँले बताउनुभयो । वर्तमान सरकारको मुख्य लक्ष्य मुलुकमा लगानीको वातावरण निर्माण, रोजगारी अवसर सिर्जना, सुशासन कायम गर्नेसहित मुलुकको समृद्धिको आधार तय गर्ने रहेको नेता भट्टराईले प्रस्ट पार्नुभयो ।
उहाँले दुवै दलले विगतमा जस्तो नियति दोहोरिन नदिन पहल गर्नुपर्ने समेत धारणा राख्नुभयो । गठबन्धनको संस्कृतिले नेताहरूलाई पालैपालो प्रधानमन्त्री, मन्त्री हुने अवसर दिए पनि विकासका कुरा ओझेलमा परेको जनगुनसा रहेकाले त्यसलाई चिर्ने गरी सरकारले काम गर्नुपर्नेमा उहाँको जोड थियो ।