शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको एसइई नतिजाः ५६% विद्यार्थी अनुपस्थित, उच्च श्रेणी ल्याउने बढे

बिहिवार , आषाढ १४, २०८१

सिन्धुली– राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा बिहिबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये सिन्धुलीबाट ४३.५ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार एसइई परीक्षामा ५६ दशमलब ५ प्रतिशत विद्यार्थी अनुपस्थित भएकाले उनीहरु कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् । सिन्धुलीबाट एसइईमा पाच हजार दुई सय ९२ जना विद्यार्थीले एसइईको फारम भरेपनि दुई हजार नौ सय ९२ जना अनुपस्थित रहेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष सिन्धुलीबाट उच्च श्रेणी अर्थात ‘ए प्लस’ (३.६ देखि ४ जीपीए) ल्याउने विद्यार्थीको संख्या बढेको छ । अघिल्लो वर्ष जिल्लामा एक सय ५८ जनाले ए प्लस ल्याएकोमा यसवर्ष दुई सय ३० जनाले उच्च श्रेणी प्राप्त गरेका छन् । त्यसैगरि, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए (ए श्रेणी) ल्याउने विद्यार्थीको संख्या पाच सय ६९ रहेको शिक्षा समन्वय इकाई परिक्षा तथा कार्यक्रम सिन्धुलीले जानकारी दिएको छ । अघिल्लो वर्ष तीन सय ८७ जनाले मात्र ए श्रेणी प्राप्त गरेका थिए ।

जिल्लामा एसइईमा सहभागि भएका मध्ये सबैभन्दा बढि विद्यार्थी २ दशमलब ८ देखि ३ दशमलब २ जीपीए अर्थात् बि प्लस श्रेणीमा उत्तिर्ण भएका छन् । आठ सय ८१ जना विद्यार्थीले बि प्लस ल्याएका छन् । अघिल्लो वर्ष पाच सय ३८ विद्यार्थीले बि प्लस श्रेणी प्राप्त गरेका थिए । त्यसैगरि, २ दशमलब ४ देखि २ दशलब ८ जीपीए अर्थात् बि ग्रेड ल्याउने विद्यार्थीको संख्या पाच सय ८१ रहेको छ । अघिल्लो वर्ष एक हजार दुई सय ९६ विद्यार्थीले बि ग्रेड प्राप्त गरेका थिए ।

त्यस्तै, ३८ विद्यार्थीले २ देखि २ दशमलब ४ जीपीए अर्थात् सि प्लस ग्रेड प्राप्त गरेका छन् । अघिल्लो वर्ष सबैभन्दा बढि विद्यार्थी सी प्लस ग्रेडमा उत्तिर्ण भएका थिए । उक्त वर्ष एक हजार सात सय ३२ जना सी प्लस ग्रेडमा उत्तिर्ण भएका थिए ।

सिन्धुलीमा एकजनाले मात्र एक दशमलब ६ देखि २ जीपिए अर्थात सि ग्रेड प्राप्त गरेका छन् । अघिल्लो वर्ष सी ग्रेडमा ९ सय ६७ जना, डि प्लस (१.२५ देखि १.६० जीपिए) मा २७४ जना, डि ग्रेड (०.८ देखि १.२ जीपिए) मा २० जना उत्तिर्ण भएका थिए । १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्ष कसैलेपनि डि प्लस, डि र ई ग्रेड(० देखि ०.८ जीपिए) प्राप्त नगरेको हुँदा कसैलेपनि एनजी पाएका छैनन् ।

अघिल्लो वर्ष ५ हजार ५ सय ३४ जनाले एसइईको फारम भरेकोमा १ सय ९२ जना अनुपस्थित रहेका थिए । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार यस वर्ष जिल्लाबाट सामुदायिकतर्फ १ सय २३ र संस्थागततर्फ २२ गरी १ सय ४५ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सम्मिलित थिए । जसमध्ये सामुदायिक विद्यालयतर्फ ४ हजार ७ सय बढि र संस्थागत विद्यालयतर्फ ५ सय बढि विद्यार्थीहरूले परीक्षामा भाग लिएका थिए । जिल्लाबाट एसईईमा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ५ हजार बढि र प्राविधिकतर्फ १ सय बढि र ग्रेड वृद्धितर्फ २६ जनाले एसइईको फारम भरेका थिए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया