शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका युवा सिडिओको आक्रमक शैलिप्रति व्यापारीको असन्तुष्टि

सोमवार , जेठ ७, २०८१

सिन्धुली– गत वैशाख ३१ गते सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरत खनाल स्नातकको परिक्षा अनुगमन गरेर सिडिओ कार्यालयतर्फ फर्किदैँ हुनुहुन्थ्यो । उहाँको नजर एकाएक कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेवासमा रहेको कमला सप्लायर्सको गोदाममा मोडियो । सिडिओ खनालले पुरानो बोराबाट नयाँ बोरामा चिउरा हाल्दै गरेको दृश्य देखेपछि तु अनुगमनकालागि तयारी गर्नुभयो । र, खाद्य प्रविधी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय लगायत पत्रकार महासंघको प्रतिनिधिलाई खबर गरेर उहाँ अनुगमनमा खटिनुभयो । सहायक सिडिओ संयोजक रहने बजार अनुगमन समितिमा सिडिओ खनाल आफैँ अघि सरेर राती १० बजेसम्म बजार अनुगमन गरेपछि व्यापारीहरु आतंकित बने । युवा जोशसहित बजार अनुगमन गर्न कम्मरकस्नु भएका सिडिओ खनालले ऐन, कानुननै बिर्सेर निन्द हराम गर्दै राती राती बजार अनुगमन गर्दा व्यापारी त्रसित भएका छन् ।

बागमती सरकारको प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को परिछेद ४ अन्तर्गत व्यापार व्यवसाय नियमन सम्बन्धी व्यवस्थाको दफा ५० मा निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि अन्तर्गत निरीक्षण अधिकृतिले कुनै ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी लिँदा यथासम्भव सूर्योदय भई सूर्यास्त नभएसम्मको समयमा मात्र गर्नुपर्ने उल्लेख छ ।

यता, सिडिओ नेतृत्वको समितिले जोशको बेलामा होश गुमाएपछि राती अबेरसम्म व्यापारीलाई आतंकित बनाउने काम भएको उद्योग वाणिज्य संघले जनाएको छ । बजारमा चरम मन्दि छाएको बेला सम्पुर्ण व्यवसायीहरुलाई हतोत्सहि हुने गरि व्यवसायीले सम्पूर्ण गोदामको चाबी साँचो बुझाउदा बुझाउदैँ रातको १० बजे मम व्यवसायीहरुलाई आतंकित बनाउदैँ गरिएको संयुक्त बजार अनुगमन प्रति संघले ध्यानाकर्षण गराएको छ । संघले सौहार्दपूर्ण मर्यादित बजार अनुगमनलाइ सदैव सहयोग गर्दै आएको तर व्यवसायीलाई हतोत्साहित नबनाई अनुगमन गर्न संघका अध्यक्ष अर्जुन श्रेष्ठले आग्रह गर्नुभयो ।

अनुगनकाक्रममा मुसाले खाएको एनएसबि कम्पनिको बोराबाट चिउरा निकालेर नयाँ बोरामा स्थान्तरण गरेको फेला पर्यो । । मुसाले खाएको उक्त चिउराको म्याद भने नगुज्रिएको उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ । उक्त चिउराको म्याद सकिन डेढ महिना बाँकी रहेपनि म्याद गुज्रिएको चिउरा भन्दै प्रचारप्रसार गरिएको संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । तर, म्याद सकिन बाँकीनै भएपनि म्याद थप बढाएर नयाँ बोरामा हालेपछि व्यपारीको नियतमाथि प्रश्न उब्जेको हो । त्यस्तै, सोहि गोदामबाट म्याद गुज्रिएको २ सय ५० एमएलको पेय पदार्थ (क्लास कोला) १ हजार ८ सय बोतल लगायत अखाद्य सामाग्री गोदाममा फेला पर्यो । ।

अनुगमन समितिले तीन दिन लगाएर कमला सप्लायर्सको ५१ वटा गोदाममा एकै साथ अनुगमन गरेको थियो । कमला सप्लायर्सलाई २ लाख ५० हजार जरिवाना तोकिएको छ । प्रदेश व्यापार व्यवसाय ऐन २०७६ अनुसार जरिवाना गरिएको हो । बागमती सरकारको प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को परिच्छेद ५ अन्तर्गत कसुर तथा जरिवाना सम्बन्धी व्यवस्थाको ६१ दफामा जरीवाना सम्बन्धी व्यवस्था अन्तर्गत खण्ड घ को उपदफा २ मा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, उपभोग गर्नुपर्ने अबधि व्यतित भै सकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गर्ने बमोजिमको कसुर गरे वा गराएमा दुई लाख पचास हजारदेखि तीन लाखसम्म जरिवानाको व्यवस्था छ ।

यता, जिल्लाका उपभोक्ताले भने संयुक्त अनुगमन समितिले गरेको जाँचबुझ तथा निगरानिलाई स्वागत गरेका छन् । विगतमा अनुगमन समितिले बजार अनुगन गर्दै छारो टार्ने काम गरेको एक उपभोक्ताले बताए । उनले भने, ‘पहिले पहिले बजार अनुगन हुन्थ्योे तर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई उन्मुक्ति दिइन्थ्यो । अहिले भने युवा सिडिओले प्रभावकारी ढंगलबाट अनुगमन गर्नुभएको छ ।’ विगतका प्रमुख जिल्ला अधिकारी भन्दा सशक्त भएर अनुगमन गरेको ती स्थानियले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको राष्ट्रिय सुरक्षा परिषद्मा लामो समय कार्यरत खनालकालागि गृह मन्त्रालय अन्तर्गतको सिडिओ पदको जिम्मेवारी नयाँ अनुभव हो । उहाँ गत २०८० साल मंसिरमा मात्रै गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालयमा सरुवा हुनुभएको थियो । नयाँ जिम्मेवारी प्राप्त गरेकोले नियमसंगत, संयमित भएर जिम्मेवारी पुरा गर्नतर्फ सहसचिव खनाल लाग्नुपर्ने एक संचारकर्मीले बताए । उनले भने, ‘काम राम्रो गरेपनि शैलि अराजक हुनुदैँन ।’

सिडिओ खनालले २०७९ साल चैत्र २० गते उपसचिवबाट सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) मा नाम निकाल्न सफल हुनुभएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया