सिन्धुली – नेकपा एमालेका महासचिव शंकर पोखरेलले हनिमुन पीरीयडसम्म पनि धैर्यता नराखी काँग्रेसले सरकार माथि प्रहार गरेको आरोप लगाएका छन् । एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन उद्घाटनका लागि बुधबार सिन्धुलीमाडी आइपुगेका महासचिव पोखरेलले दुइ महिना अघि आफ्ना मन्त्रीहरु झण्डा हल्लाएर बयान दिन गएको स्मरण गर्न भन्दै कांग्रेसले संसद अबरोध गर्ने र गृहमन्त्रीको राजीनामा माग्ने नैतिक हैसियत गुमाएको बताए । मन्त्रीहरुले झण्डा हल्लाएर बयानमा जाने कुरा बेठिक हो राजीनामा गर्नुपर्छ भनेको भए यतिखेर कांग्रेसले प्रश्न गर्न मिल्थ्यो महासचिव पोखरेलले भने, ‘सरकार गठन भएको ९० दिनसम्मको हनिुमन पिरियड पनि पर्खन नसक्नु सरकार माथिको प्रहार हो ।’
कुनै पनि विषयमा अनुसन्धान भइ थुनछेक आदेस भएमा मात्र राजीनामा दिनुपर्ने भन्दै महासचिव पोखरेलले गृहमन्त्री लामिछानेको बचाउ गरे । कांग्रेस प्रति आक्रमक भएका पोखरेलले सरकारबाट हट्नु परेको पीडाको यति छिटो छटपटाहट होला भन्ने आफुलाइ नलागेको बताए । कांग्रेसले आफ्नो गल्ती सुधारेर संसद सु्चारु हुने वाताबरण मिलाउन उनले आग्रह गरे । अबका तीनचार दिनमा वर्तमान समिकरण अनुसारको सरकार निर्माण भएपछि विकासले गती लिने महासचिव पोखरेलको भनाइ थियो । कांग्रेस र एमाले फरक विचार र नीति भएको पार्टी भएकाले मिलेर स्थिर सरकार चलाउन नसकिने महासचिव पोखरेलको जिकिर थियो । कांग्रेस र एमाले मिलेर स्थिर सरकार दिन त सकिन्छ, उनले भने, ‘दुइ फरक मान्यताका दलहरु मिल्दा नीतिविहिनता अझ ज्यादा मौलाएर जान्छ ।’ स्थिर सरकारका लागि एमाले मिशन ८४ मा लागिसकेको महासचिव पोखरेले खुलाए ।
ठुलो दल भएपनि एमालेले महत्वपूर्ण मन्त्रालयहरु नलिएको टिप्पणी आएको भन्दै प्राप्त गर्ने भन्दा पनि मुलुकलाइ अप्ठेरो अवस्थाबाट जोगाउने प्राथमिकता रहेको महासचिव पोखरेलको भनाइ थियो ।