सिन्धुली – सिन्धुलीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा,हेटौडा,बिराटनगर,बिरगन्ज र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि जिल्लाका पुराना बजारको व्यापार घटेको छ ।
जिल्लामा तीन ठूला राष्ट्रिय राजमार्ग निर्माणसँगै ग्रामीण क्षेत्रमा सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालनमा आएपछि सिन्धुलीको ग्रामीण क्षेत्रको मुहार फेरिएको छ । सहरी क्षेत्रमा व्यापार व्यवसाय घट्दै गएको व्यापारीहरुले बताएका छन् ।
बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी लोकमार्ग (धरान चतरा–सिन्धुली– हेटौडा) सडक निर्माणसँगै ग्रामीण क्षेत्रका बजारमा शहरीकरण बढ्दै गएको हो । बीपी राजमार्गले छोएको खुर्कोट, खाल्टे, मुलकोट, रातमाटा, नेपालथोकमा शहरीकरण निकै बढेको स्थानीय बासिन्दा बताउछन् ।
जिल्लाका करिब एक दर्जन बढी क्षेत्रमा बजार विस्तार हुन थालेको छ । सुगम मानिने सदरमुकाम सिन्धुलीमाडी बजारदेखि जिल्लाका सबैभन्दा दुर्गम (विकट)सम्म बजार विस्तार भएका छन् । सडकसँग जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका स्थानीयले बताएका छन् ।
“अहिले जताततै बजार विस्तार हुँदै गएका छन्, आमनागरिकले सेवासुविधा पनि पाउन थालेका छन्, सामान्य समान किनमेलका लागि घन्टौँ समय लगाएर बजार धाउनुपर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन”, फिक्कल गाउँपालिका–२ पोखरीका लिलाधर पहाडीले भन्नुभयो । जिल्ला सदरमुकाम सिन्धुली बजारेदेखि सवै गामिण क्षेत्रसम्मका दर्जनौँ स्थानमा अहिले साना ठूला बजार विस्तार भएका छन् । अझै पनि बजार विकास हुने क्रममा छन् ।
सडकले जोडकोे कमलाखुज, खुर्कोट, खाल्टे, मुलकोट, रातमाटा, नेपालथोक,महाभारत क्षेत्र,मरिण क्षेत्र गायतका स्थान अहिले बजारमा परिणत भएकाछन् । अहिले बजार विस्तार हुन लागेका ठाउँ सडक पुग्नुभन्दा पहिला सुनसान थिए । अहिले यहाँ निकै चहलपहल बढेका तिनपाटन गाउँपालिका–८ तोश्रामखोलाका घनश्याम समाल मगरले बताउनुभयो । सडकले धेरै सहजता प्रदान गर्नुका साथै जीवन नै परिवर्तन गरिदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यति ठूला घर बने, पसल छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोच्दै नसोचेको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोचेको पनि थिएन ।”
सिन्धुलीका म्याग्दीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरियाको ठाउँमा गाडीले ढुवानी गर्न थालेका छन् । गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको दुधौली नगरपालिका रेखराज दाहालले बताउनुभयो ।
सडक छेउमा बस्ती विस्तार हुनेक्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको उहाँले बताउनुभयो । “सडक आएपछि माथिमाथि गाउँबाट मान्छे तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो”, दाहालले भन्नुभयो ।
उहाँले सडकले गाउँठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँ जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य, शिक्षालगायत धेरै सेवासुविधा उपभोग गर्न पाएको बताउनुभयो । स्वास्थ्य उपचारका लागि टाढाटाढा जाने बाध्यता हटेको जनाउँदै अहिले नजिकै उपचार पाउन थालेको स्थानीयले बताउँछन् ।
सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यहीँ गएपछि उपचार हुन्छ”, दुधौलीका खेटराज अधिकारीले भन्नुभयो, “पहिले मोटर गुड्ने बाटो पनि थिएन, अस्पताल पनि नजिक थिएन, निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो, बजार पनि बन्यो र अस्पताल पनि बन्यो, हामीलाई निकै सजिलो भयो ।”