सिन्धुली– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी दिनमा संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।
काँग्रेस सचेतक एवं सिन्धुलीका समानुपातिकबाट सांसदमा निर्वाचित हुनुभएको सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराउनुभएको हो । बुधवार प्रतिनिधि सभा बैठक शुरु हुने बित्तिकै बोल्दै उहाँले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभएको थियो ।
सचेतक थिङ सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो । सचेतक थिङले संसदमा सरकारमाथि प्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिनुभयो ।
को हुन् थिङ ?
शिक्षक हुदैँ राजनीतिमा लाग्नुभएकि थिङ २०७४ सालमा कमलामाई नगरपालिकाको उपाध्यक्षका लागि चुनावि मैदानमा उत्रनुभएको थियो । शिक्षक पेशा त्यागेर उपाध्यक्षको उम्मेदवार बन्नुभएको थिङले नेकपा एमालेको उम्मेदवार मञ्जु देवकोटासँग पराजय व्यहोर्नुप¥यो । २०७९ मा भने वाम लोकतान्त्रिक गठबन्धनबाट दिर्घराज श्रेष्ठको नाम उपाध्यक्षको उम्मेदवारमा सिफारिस भएपछि थिङ ‘ब्याक’ हुनुभयो ।
उहाँ प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेर चुनावि मैदानमा होमिनुभएको थियो । जिल्ला अस्पताल सिन्धुलीको व्यवस्थापन समितिको सदस्य समेत भएर काम गर्नुभएको थिङ प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुनुहुन्छ ।