शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिचल्लीमा परेकी सिन्धुलीकी सुस्मितालाई आर्थिक सहयोग

शुक्रवार , फाल्गुण ११, २०८०

लिस्बन (पोर्चुगल), – उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली संघ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक संकलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो । स्वीट्जरल्याण्डका नेपाली समुदायसँग संकलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार राष्ट्रिय समाचार समितिमार्फत सम्प्रेषण भएको थियो । पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिक्रिया